२० लिटरको जारमा १९ लिटर पानी

थानकोट ।
प्रशोधित पिउने पानीको गुणस्तरको समस्या बारम्बार सुनिँदै आएको हो। तर, अहिले पानीको तौलमै समस्या भएको पाइएको छ।
गोखापत्र दैनिकमा सीता शर्मा लेख्छिन्, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको अनुगमनका क्रममा २० लिटर भनेर बिक्री भइरहेको पानीको जारमा १९ लिटर मात्रै हुने गरेको फेला पारेको हो। पानी उत्पादन उद्योगीहरू नै १९ लिटर क्षमता भएको पानीको जारमा २० लिटर भनेर बिक्री गर्दै आएको स्वीकार गर्छन्।
विभागका निर्देशक होमनाथ भट्टराईले १९ लिटर क्षमता भएको जारलाई २० लिटर भनेर बजारमा पठाउने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिए। ‘१९ लिटर मात्रै पानी भएको तर २० लिटर भनेर लेबल टाँसिएको जार बजारमा बाक्लै भेटिएका छन्।’
उपभोक्ता अधिकारकर्मीहरूवर्षौँदेखि पानीका नाममा उपभोक्ता ठगी गर्ने नापतौलमा ठगी गरिरहेका उद्योगीलाई कडा कारबाही गर्नुपर्ने बताउँछन्। उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन नापतौलमै ठगी गर्नु गम्भीर अपराध भएकाले कानुनका भएको हदैसम्मको कारबाही गर्नुपर्ने बताउँछन्।
स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ को पाँचौँ संशोधनअनुसार वस्तुमा घटी वा बढी तौल भएमा पाँच हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । पानीको जारको हकमा प्रत्येक जारको पाँच हजारका दरले कति वटा जारमा ठगी गरेको छ त्यस आधारमा पनि जरिवाना गर्न सकिने व्यवस्था ऐनमा गरिएको छ।
नेपाल नापतौल तथा गुणस्तर विभागका क्षेत्र कार्यालय प्रमुख निराजन पुडासैनीले पानीको तौलमा ठगी गर्ने उद्योगीलाई स्ट्यान्डर्ड नाप र तौल ऐनअनुसार प्रत्येकमा पाँच हजारका दरले जरिवाना गर्न सकिने जानकारी दिए।
उद्योगीको स्वीकारोक्ति
नेपाल बोटल वाटर संघका अध्यक्ष ध्रुव गौतमले जार उत्पादन गर्दै आएका केही पुराना उद्योगले १९ लिटर क्षमताका जार उत्पादन गरेकाले १९ लिटर जार बजारमा रहेको स्वीकार गरे।
नेपाल नापतौल तथा गुणस्तर विभागले १९ लिटर जारलाई मान्यता नदिने भएकाले केही उद्योगीले १९ लिटर क्षमता भएको जारमा २० लिटर पानी भनेर उल्लेख गर्न बाध्य भएको स्वीकार गरे।
‘यस विषयमा वाणिज्य विभाग, नाप तौल विभाग र उद्योगीबीच भएको छलफलपछि १९ लिटर क्षमता भएको जारमा १९ लिटर र २० लिटर क्षमता भएकोमा २० लिटर उल्लेख गरेर बजारमा पठाउने गरी सहमति भएको छ’, उनले भने।
अध्यक्ष गौतमका अनुसार पानीको नापतौलमा समस्या आएको भनेपछि संघले अभियानकै रूपमा नयाँ प्रिन्ट भएको पानी आउँदा स्पष्ट रूपमा जारको क्षमताअनुसार नै पानीको परिणाम उल्लेख गर्नुपर्छ। यदि कसैले अटेर गरेमा कानुनअनुसार कारबाही हुने र कानुनमा सबैलाई समान हुने उनको भनाइ छ।