चन्द्रागिरि नगरमा चार्जिङ स्टेशन स्थापना गर्न साझा यातायातको चासो, यी हुन सम्भावित तीन स्थान

Thankot Times

थानकोट ।

विद्युतीय यातायात (बिजुली बस) का लागि चार्जिङ स्टेशन स्थापना गर्न साझा यातायातले चन्द्रागिरि नगरपालिकासँग सहयोग मागेको छ । 

मंगलबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसहितको छलफलमा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित लगायतले सो माग गरेका हुन् ।

चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू राजेन्द्र महर्जन र राजभाई महर्जन, अधिकारकर्मी सुवोधराज प्याकुरेल लगायतको उपस्थितिमा भएको छलफलका क्रममा साझा यातायातले चन्द्रागिरि नगरका राजमार्ग वा मुल सडकसँग जोडिएका स्थानमा चार्जिङ स्टेशन स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध गराउनका लागि नगरप्रमुख समक्ष अनुरोध गरेको नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

सो क्रममा साझा यातायातका अध्यक्ष दीक्षितले चन्द्रागिरि ५, चन्द्रागिरि ४ र चन्द्रागिरि ३ का गरी तीन स्थानमा स्थान हेरिएको र ती मध्ये एक स्थान चार्जिङ स्टेशन लागि उपलब्ध गराइदिन नगरप्रमुख समक्ष अनुरोध गरेका थिए । 

निकट भविष्यमा नै चन्द्रागिरि नगरका प्रतिनिधि तथा साझा यातायात प्रतिनिधिले स्थलगत निरिक्षण गरेपछि चार्जिङ स्टेशन स्थापनाका लागि ठाउँ चयन गर्ने विषयमा छलफल टुंगिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । 

साझा यातायातले चन्द्रागिरि नगरपालिका क्षेत्रमा साझा यातायात तथा अन्य विद्युतीय यातायातका लागि लक्षित गरि कम्तीमा २५ वटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको बताइएको छ । कम्पनीले हाल काठमाण्डाैका केही रूटमा विद्युतीय बस (बिजुली बस) सञ्चालन गरिरहेको छ भने केहि महिनाभित्रै थानकोट रूटमा पनि बिजुली बस सेवा सुरू गर्ने यसअघि नै घोषणा गरिसकेको छ । 

साझा यातायातले चन्द्रागिरि नगरका कुन कुन स्थान चार्जिङ स्टेशन स्थापनाका लागि अध्ययन गरेको हो सो भने खुलाइएको छैन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *