कात्तिक १९ गतेबाट वीर गणेशमान सिंह राष्ट्रिय टेनिस

Thankot Times

थानकोट । 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा कात्तिक १९ गतेबाट दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता- २०२२ हुने भएको छ।

त्यस्तै सोही कमिटीको आयोजनामा पुस २३ गतेबाट चौथो वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस हुनेछ। ललितपुर सातदोबाटोस्थित टेनिस कोर्टमा कात्तिक २६ गतेसम्म सञ्चालन हुने टेनिस प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्र एवं छात्रातर्फ विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सिनियरतर्फ पुरुष तथा महिला एकल तथा युगल, पुरुष ३५ वर्षमाथि एकल तथा युगल, ४५ वर्षमाथि एकल तथा युगल, ५५ वर्षमाथि एकल तथा युगल र ६५ वर्षमाथिको एकल रहेको छ। यस्तै जुनियरतर्फ यु–८ छात्र तथा छात्रा एकल, यु–९ छात्र तथा छात्रा एकल, यु–१० छात्र तथा छात्रा एकल, यु–१२ छात्र तथा छात्रा एकल, यु–१४ छात्र तथा छात्रा एकल र खुला छात्र तथा छात्रा युगलमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फका विजयी शीर्ष तीन स्थानका खेलाडीले ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन्।

यस्तै पुरुष तथा महिला युगल र पुरुष ३५ वर्षमाथिका शीर्ष तीन विजयी खेलाडीले ४० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन्। ३५ वर्षमाथिको युगलमा शीर्ष तीन विजेताले २५ हजार, १५ हजार ५ हजार, ४५ वर्षमाथि एकलका शीर्ष तीन विजेताले ३० हजार, १५ हजार र ५ हजार, ४५ वर्षमाथिको युगल र ५५ वर्षमाथिको एकलतर्फ २० हजार, १० हजार र ५ हजार, ५५ वर्षमथिको युगलतर्फका खेलाडीहरूले १५ हजार, ८ हजार र ६५ वर्षमाथिको एकलका खेलाडीहरूले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *