महिला फुटबलमा कीर्तिमानी दर्शक, ९१ हजार दर्शकले हेरे ‘एल क्लासिको’

थानकोट ।
क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिडको महिला टिमबीचको च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग ‘एल क्लासिको’ लाई कीर्तिमानी दर्शक संख्याले हेरेका छन् ।
बुधबार राति क्याम्प नोउमा भएको खेललाई ९१ हजार ५ सय ५३ दर्शकले प्रत्यक्ष रंगशालामा हेरेका थिए । यो महिला फुटबल इतिहासमै सबैभन्दा बढी दर्शक हो ।
यसअघि सन् १९९९ को महिला विश्वकपको फाइनलमा अमेरिका र चीन रोज बाउलमा भिड्दा ९० हजार १ सय ८५ दर्शकले हेरेका थिए । क्लब स्तरमा भने सन् २०१९ मा बार्सिलोना र एटलेटिको म्याड्रिडबीचको खेल ३० हजार ८ सय १४ दर्शकले हेरेका थिए ।
उक्त खेलमा बार्सिलोलना ५–२ ले तथा समग्रमा ८–३ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । यो बार्सिलोनाका समर्थक र सामान्यतय महिला फुटबल समर्थकका लाग उत्सवको दिन थियो ।
यो खेल हुनुअघि बार्सिलोनामा वर्षा भएको थियो । खेल अवधिमा मौसममा सुधार आएको थियो । त्यसपछि ठुलो संख्यामा महिला र बालबालिकासहित हजारौ मानिस रंगशालामा छिर्दै आफ्नो टोलीलाई हौसला प्रदान गरे । रंगशाला प्रवेश गर्न समर्थकहरु साँझदेखि नै लामबद्ध भएका थिए ।