चन्द्रागिरि १५ बाट काठमाण्डाै क्षेत्र नं. ९ का लागि चार जनाको मनोनयन दर्ता
थानकोट ।
आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार देशभर उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । निर्वाचन आयोगले आईतबार रातिसम्म २१२८ जनाले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएको विवरण प्राप्त भएको जनाएको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै रहेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
काठमाण्डाै जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउनेहरूको विवरण भने दाखिला भइसकेको बताइएको छ । प्राप्त विवरणअनुसार काठमाण्डाै क्षेत्र नं. ९ को संघ तर्फ १० स्वतन्त्रसहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमा चन्द्रागिरि नगरपालिका वडा न. १५ तीनथाना क्षेत्रका मात्रै कम्तीमा ४ जनाले उम्मेदवारी दर्ता गराएको क्षेत्र नं. ९ का सहायक निर्वाचन अधिकृत नविन आचार्यले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । यस वडामा ४३१८ मतदाता रहेका छन् ।
यस क्षेत्रमा नेकपा (माओवादी केन्द्र ) बाट पोलिटब्यूरो सदस्य एवं पूर्व विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमला, राप्रपाका केन्द्रीय सदस्य देवेन्द्र प्रधान, र स्वतन्त्र उम्मेदवार कानुनविद् डा. ज्ञान बस्नेत तथा लक्ष्मणसिंह खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । धमला सत्ता गढबन्धनकी साझा उम्मेदवार हुन् ।
काठमाण्डाै ९ मा कूल ७२,१८३ मतदाता रहेका छन् । जसमा प्रदेश क मा ३७१०० तथा प्रदेश ख मा ३५०७३ मतदाता रहेका छन् । प्रदेश क अन्तर्गत ४४ मतदान केन्द्र रहनेछन् भने ख मा ४१ मतदान केन्द्र हुनेछन् ।