पाँचाै नैकाप गोल्डकपः डिफेन्डिङ च्याम्पियन तारकेश्वरको विजयी सुरूवात
थानकोट ।
पश्चिम काठमाण्डाैको प्रतिष्ठित फुटबल प्रतियोगिता नैकाप गोल्डकपको पाँचाै संस्करण सोमबारबाट सुरू भएको छ।
चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा सम्पन्न उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन तारकेश्वर युथ क्लब विजयी भएको छ । तारकेश्वरले वेष्ट काठमाण्डाै एफ सी माथि २-१ को जित हात पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा दुवै टोलीका एक एक जना खेलाडीले रातो कार्ड पाएका थिए ।
खेलका म्यान अफ दि म्याच तारकेश्वर युथ क्लबका उर्केन शेर्पा चुनिए ।
यसअघि निवर्तमान संघीय सांसद् राजेन्द्र कुमार केसीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । सो क्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।
पाँचाै नैकाप गोल्डकपको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै निवर्तमान सांसद् केसीले नैकाप फुटबल मैदानलाई काठ क्षेत्रकै नमुना खेल मैदानका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगर क्षेत्रमा फुटबल खेलको विकास एवं प्रतिभा उत्पादनका लागि नगरका विभिन्न वडाहरूमा फुटबल मैदान तथा फुटसलहरूको निर्माण जारी रहेको बताउनु हुँदै संचालनमा रहेको नगरको सबैभन्दा ठुलो खेल मैदानका रूपमा रहेको नैकाप फुटबल मैदानको स्तरोन्नतिका लागि नगरले विशेष ध्यान दिएको र भोलिका दिनमा पनि सो जारी रहने धारणा व्यक्त गर्नुभयो ।
सो क्रममा बोल्नुहुँदै चन्द्रागिरि नगरका उपमेर बसन्ती श्रेष्ठले नगरमा संचालन हुने जुनसुकै खेलकुदको पनि स्तररीकण गर्न अत्यावश्यक रहेको धारणा राख्नुभयो ।
२४ टोली सम्मिलित प्रतियोगिताको कार्तिक ५ गते उपाधी भिडन्त हुने तालिका रहेको छ ।