‘स्वास्थ्य र शिक्षा चन्द्रागिरि नगरपालिकाको पहिलो प्राथमिकतामा’- नगरप्रमुख गिरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले स्वास्थ्य र शिक्षा क्षेत्रलाई नगरमा पहिलो प्राथमिकतामा राखेर कार्य अघि बढिरहेको बताउनुभएको छ ।

सोमबार चन्द्रागिरि नगरपालिका १० सतुंगलमा चन्द्रागिरि पोलिक्लिनिकको उद्घाटन गर्नुहुँदै नगरप्रमुख गिरीले सो बताउनुभएको हो । पोलि क्लिनिक उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै नगरप्रमुख गिरीले चन्द्रागिरि नगरपालिकाले नगरबासीहरू समक्ष आधारभूत स्वास्थ्य सुविधा पुर्याउनका लागि हरेक वडामा नर्सको व्यवस्थाका लागि दरखास्त आह्वान गरिएको जानकारी दिनुहुँदै विशेष प्रकारका रोगको निदानका लागि नीजि क्षेत्रको सहयोग महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

सो क्रममा चन्द्रागिरि १० का वडाध्यक्ष शीवकुमार महर्जनले नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्नुहुने विशेषज्ञ चिकित्सकहरूसँग आवश्यक छलफल एवं समन्वय गरी उनीहरूबाट नगरका स्वास्थ्य चाैकी एवं शहरी स्वास्थ्य केन्द्रहरूबाट नगर बासीहरूको स्वास्थ्य उपचारका लागि सहयोग लिन सके थप प्रभावकारी हुने धारणा राख्नुभयो । कार्यक्रममा बोल्नुहुँदै चन्द्रागिरि ११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले नगरबासीहरूले नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका बाहेकका औषधी खरिदका लागि अब अन्यत्र गइराख्नुपर्ने बाध्यता हट्नसक्ने अपेक्षा राखेको बताउनुहुँदै पोलिक्लिनिक सञ्चालकहरूले नगरबासीहरूको सुविधाका लागि आवश्यक पर्ने सबै प्रकारका औधषी तथा जाँच सेवा उपलब्ध हुने वातावरण श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

चन्द्रागिरि पोलिक्लिनिकका अध्यक्ष रामचन्द्र श्रेष्ठले चन्द्रागिरि नगरपालिका क्षेत्रमा खुलेको पहिलो अत्याधुनिक ल्याब सहितको पोलिक्लिनिकको स्थापनाले आम नगरबासीहरूले स्वास्थ्य जाँच तथा औषधी खरिदका लागि नगर बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *