दुई सिट नपाए गठबन्धन छाड्ने जनमोर्चाको चेतावनी

Thankot Times

थानकोट ।

पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । तर, चुनावी तालमेलको मुख्य कडी सिट बाँडफाँटमा भने अहिलेसम्म पनि कुरा मिलेको छैन् ।

दलहरूले आफ्नो अडान नछाड्दा सिट भागवण्डाको विषय टुंगिन नसकेको हो । सिटको भागवण्डा गर्न गठबन्धनले कार्यदल नै बनाएको थियो । तर, कार्यदलले यो विषय टुंग्याउन नसकेपछि शीर्ष नेतासमक्ष अपूरो प्रतिवेदन बुझायो ।

शीर्ष तहमा पनि पटक-पटक छलफल भइरहँदा पनि निष्कर्ष निस्कन सकेको छैन् । सबैभन्दा कम सिट दाबी गरेको जनमोर्चाले दुई सिटमा उम्मेदवार उठाउन पाउनुपर्ने बताउँदै आएको छ । तर, अन्य दल भने उसलाई एक सिट मात्र दिन तयार भएको अवस्था छ ।

यस्तो अवस्थामा गठबन्धनमा खासै असन्तुष्ट नदेखिएको जनमोर्चाले एकै सिट पाए पनि तालमेल गरेर चुनाव लड्छ त ?

त्यस्तो अवस्थामा गठबन्धनबाटै बाहिरिनेसम्मको चेतावनी दिन्छन् कार्यदलका सदस्यसमेत रहेका जनमोर्चाका नेता हिमलाल पुरी । ‘हामीले सुरुदेखि दाबी गरेको २ सिट हो । त्यसमा तलमाथि हुँदैनौँ । त्यो पनि घटाउन थालियो भने गठबन्धनमा रहँदैनौँ,’ पुरीले भने, ‘२ सिट भएन भने हामी एक्लै निर्वाचनमा जान्छौँ ।’

खासगरी जनमोर्चाले दाबी गरेको प्युठानमा माओवादीको चुनाव चिह्न लिएर मैदानमा उत्रिने वामदेव गौतमको तयारी छ । तर, प्युठानमा जनमोर्चा नै फाइनल भएको पुरी बताउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *