चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढ्यो, भारतको निर्णयपछि अझै महंगिने
थानकोट ।
भदौ लागेपछि चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ ।
भारतले चामल निर्यातमा कडाई गर्दैछ भन्ने संकेत पाएपछि थोक विक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य बढाएका हुन् । भदौ लागेपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म वृद्धि भएको व्यापारीहरूले बताएका छन् ।
किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले चामलको मूल्य प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढिसकेको र भदौदेखि नै मूल्य बढेको बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले भारतले २० प्रतिशत कर बढाएपछि सोही अनुपातमा मूल्य बढ्ने बताएको रातोपाटी अनलाइनमा खबर छ ।
‘भारतले निर्यातमा प्रतिबन्ध लगाएको होइन, उसले निर्यातमा २० प्रतिशत कर बढाएको मात्रै हो, अब नेपालमा पनि चामलको मूल्य २० प्रतिशतले बढ्छ,’ अध्यक्ष गुप्ताले भने । उनले भदौ महिनामा बढेको चामलको मूल्य खास कारण नभई स्वभाविक मूल्य वृद्धि भएको दाबी गरे । गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघ नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष पनि हुन् ।