पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

Thankot Times

थानकोट ।

पाथीभरा देवी दर्शन केबलकार कम्पनीद्वारा ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको हो । 

कम्पनीले  गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधीन केबलकारसँग सबन्धित स्थानीयवासीहरुका सरोकारका केही विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय सङ्घ–संस्थाहरूले वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएकोमा कम्पनीले त्यसलाई सकारात्मक रूपमा लिएको बताएको छ । 

कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको ब्यहोरा जानकारी गराउँदै त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको प्रवर्द्धन गर्न कम्पनीको तर्फबाट यथाशक्य सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ । 

सो कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको मापदण्ड अनुसार वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सम्पूर्ण सरकारी प्रक्रिया पुरा गरेर परियोजना निर्माणको क्रममा रहेको बताउँदै स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्परा बमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालाहरूसँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारी समेत गराएको छ । 

‘हामीलाई विश्वास छ वार्ता तथा संवादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ । हामी केबलकार निर्माणमा देखिएका विषयहरूलाई लिएर पहिचानका लागि स्थानीय युवाले वार्ता र संवादका लागि गरेको आग्रहलाई सकारात्मक रूपमा लिन्छौ र यस विषयमा वार्ता तथा संवादमा बस्न तयार छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति

पाथीभरा देवी दर्शन केवलकार प्रा. लि. मिति २०७२ साल असोज ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । पर्यटकीय स्थलमा आवश्यक पूर्वाधार निर्माण गरी पर्यटक आगमनको संख्यामा उल्लेखनीय वृद्वि गरी उक्त स्थानको धार्मिक, सास्कृतिक संरक्षण गर्दै सामाजिक र आर्थिक, अवस्थामा टेवा पुर्याउने कम्पनीको उदेश्य रहेको छ ।

यस कम्पनीले आफ्नो स्थापनाकाल देखि ताप्लेजुङ जिल्लास्थित पाथीभरा देवी दर्शन गर्ने तीर्थालू भक्तजन र पर्यटकहरुलाई मन्दिरसम्म सहजै पुग्नको लागि केवलकार निमार्णको सम्पूर्ण कानुनी प्रक्रियाहरु पूरा गरी निर्माण कार्य अगाडि बढाएको सर्वविदितै छ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. ११ काफ्लेपाटीमा केवलकारको बटम स्टेशन रही पाथीभरा देवी मन्दिर परिसरभन्दा केही बाहिर माथिल्लो स्टेसनसम्मको दुरी जम्मा २.७५ किलोमिटर लम्बाई रहेको छ ।

यस केबलकार निर्माणको लागि आवश्यक पर्ने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई नेपाल सरकार मन्त्रिपरिषद् निर्णयबाट भोगाधिकार प्राप्त गरी सो बापत १०६ रोपनी जग्गा खरिद गरी नेपाल सरकारलाई सट्टाभर्ना समेत दिइसकेको छ ।

आयोजना निर्माणको लागि आवश्यक रुख कटान गरी साइट क्लियर गर्ने काम समेत सम्पन्न भइसकेको छ । त्यसैगरी, कटान भएका एउटा रुखको सट्टा २५ रुखका दरले आयोजनाले वृक्षारोपण समेत गर्नेछ ।

आयोजनाले हालसम्म आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण, विद्युत लाइन विस्तार, खानेपानी व्यवस्थापन, विस्तृत इन्जिनियरिङ् डिजाइन, माटो परीक्षण, तल्लो स्टेसनमा कामदार बस्ने क्याप निर्माणलगायतका काम सम्पन्न गरिसकेको छ ।

पाथीभरा देवी दर्शन केबलकार निर्माण भएमा पहिचानको नाम र आत्मसम्मान साथै स्थानीय धर्म, संस्कृति र परम्परा आदि महत्वपूर्ण विषयमा आघात पर्ने र मेटिने आशंका गरी आफ्नो मौलिक पहिचान र आत्मसम्मान एवम् गौरवका लागि भनी विकास निर्माण र रोजगारीका निम्ति निर्माणधिन केबलकारको विरोधमा विगत आन्दोलनरत विभिन्न शक्ति घटकहरुले गरेको आन्दोलनबाट हामी निर्माण कम्पनी मुख्य तीन विषयहरु आन्दोलनको माग एजेन्डा हुन सक्ने बुझेका छौँ ।

१ केबलकार निर्माण भइरहदा पहिचानको नाम र आत्मसम्मानको सुनिश्चितता हुनुपर्ने, आदिवासी जनजातीहरु विकास विरोधि होइनौ भन्ने आन्दोनलको माग र घटकहरुको बुझाई ।

२ निर्माणधीन केबलकारले आदिवासि जनजातिको मौलिक धर्म, संस्कृति र परम्पराको सुरक्षाका साथै स्थानियलाई रोजगारी आदिको ग्यारेन्टी गर्नुपर्ने ।

३ यी महत्वपूर्ण पहिचानको नाम र आत्मसम्मानको विषयका एजेन्डा सरकार र निर्माणाधिन कम्पनीले नदिलाएमा केबलकार बन्न नदिने भन्ने मत उठेको पाएका छौ ।

यथार्थमा हामी व्यवसायिक कम्पनी हौँ । हामी पहिचान दिलाइदिने राजनीतिक शक्ति होइनाैं । तथापि, वर्तमान विश्व राजनीतिमा विकास निर्माण र पहिचानको मत पारस्परिक तथ्य बन्दै आएको हामी पनि स्वीर्कादछाँै । यसर्थ, आन्दोलनरत सम्पूर्ण पक्षहरु अहिले आएर पहिचानको निम्ति जुनसुकै कदम र आन्दोलन उठाउन सक्ने तर पहिचानको नाम र आत्मसम्मानको बोध भएमा आफूहरु विकासको विरोधि नभएको साथै सम्पूर्ण समस्याहरुको समाधान वार्ता र संवादबाट समाधान निकाल्न सकिन्छ भन्ने यहाँहरुको बुझाइलाई कम्पनी पक्ष उच्च सम्मान र स्वागत गर्दछ । यहाँहरु विकास विरोधि हुनुहुन्न भन्ने हामीहरुमा रहेको बुझाइमा थप विश्वास थपिएको छ ।

केबलकार विश्वमै न्यून प्राकृतिक क्षतीबाट विकास गर्न सकिने एउटा वातावरण मैत्री यातायतको साधन मात्र हो । यसको निर्माण प्रकृति तथा वन जंगल र जैविक वातावरणमा असर नपर्ने गरी गर्न सकिन्छ, र नविकरणीय उर्जाको प्रयोगबाट समेत सञ्चालन गर्न सकिन्छ ।

यस कम्पनीले सधै प्राचीन सभ्यता, सबै धर्म, संस्कृति, परम्परा, स्थानीयको आत्मसम्मान र पहिचानलाई उच्च सम्मान गर्दै सम्बद्घ व्यक्ति, संस्था तथा वौद्विक व्यक्तित्वहरुसँगको परामर्श र सहकार्यबाट आफ्नो कार्य अगाडी बढाउन चाहन्छ ।

हामीले सरोकारवाला सबै पक्षका मागको सम्मान गर्दै आएको व्यहोरा जानकारी गराउँदै त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको देश तथा विदेशमा प्रवद्र्धन गर्दै रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकास तथा पहिचान र आत्मसम्मानको कम्पनीको तर्फबाट यथासक्य सहयोग रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ ।

यस कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर परियोजना निर्माण क्रममा रहेका छ । कम्पनीले स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्परा बमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालाहरुसँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारी समेत गराउन चाहन्छौँ ।

हामीलाई विश्वास छ, वार्ता तथा सम्वादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ । हामीले केबलकार निर्माणमा देखिएका विषयहरु मध्ये केबलकार खारेजी बाहेक, पहिचान र आत्म सम्मानका लागि हालसम्म भए गरिएका सम्पूर्ण आन्दोलनरत पक्षहरुको मागलाई सकारात्मक रुपमा लिएका छाँै । यो केबलकार निर्माणसँग सम्बन्धित आन्दोलनरत घटकहरुले उठाएका सम्पूर्ण समस्याहरुको समाधान गर्न हाम्रो तर्फबाट हुन सक्ने सबै प्रक्रियामा सकारात्मक रहेको जानकारी गराउँदै आन्दोलनरत सबै पक्षहरुलाई वार्ता तथा संवादद्वारा समस्याहरु समाधान खोज्न वार्ता र संवादमा आउन हार्दिक आह्वान गर्दछौ ।

अन्त्यमा, यस परियोजनाले आन्तरिक तथा वाह्य पर्यटनको माध्यमद्वारा स्थानीय समुदायको सामाजिक, आर्थिक, तथा सांस्कृतिक विकास र निर्माणमा फाईदा पुर्याउने र समग्रमा मुलुककै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्नेछ भन्ने विषयमा हामी आशावादी छौँ ।

धन्यवाद ।
रुद्रराज पौडेल
संचालक
मितिः २०८२/०१/१५


Leave a Reply

Your email address will not be published. Required fields are marked *