काठमाडाैं शिक्षा क्याम्पस ३४औं वर्षमा, क्याम्पस छिट्टै विश्वविद्यालय बन्नेमा वक्ताहरुको विश्वास

थानकोट ।
काठमाडाैं शिक्षा क्याम्पस छिट्टै विश्वविद्यालयमा रूपान्तरण हुनेमा वक्ताहरूले विश्वास लिएको धारणा व्यक्त गरेका छन् ।
सोमबार चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित क्याम्पसमा आयोजित क्याम्पसको ३४औं वार्षिकोत्सव समारोहका सहभागीले सो धारणा राखेका हुन् ।
काठमाडाैं शिक्षा क्याम्पसको ३४औं वार्षिकोत्सव समारोहका क्रममा क्याम्पस सञ्चालक समिति सदस्य तथा त्रिविका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँलाई विशेष सम्मान गरिएको थियो ।
भिडियोमा हेर्नुहोस् प्रा.डा. खनियाँलाई सम्मान गरिएको दृश्य
सो क्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी, त्रिविका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, शिक्षा शास्त्र संकायका डीन प्रा.डा. वेदराज आचार्य, काठमाडाैं शिक्षा क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रा.डा. माधव प्रसाद भट्टराई, चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवकुमार महर्जन, वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, समाजसेवी तथा क्याम्पस सभा सदस्य मोहनकुमार कार्की, देवेन्द्र प्रधान लगायतको उपस्थिति रहेको थियो ।
क्याम्पस स्थापनाको ३४औं वर्षका अवसरमा सो क्याम्पसका र अन्य क्याम्पसका शिक्षक तथा कर्मचारीहरूका लागि सोमबारबाट प्रविधिसँग गुणात्मक, मात्रात्मक र मिश्रित विधिहरूको तालमेल विषयक पाँच दिने तालिम कार्यक्रम सुरु गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको प्राविधिक सहयोगमा सो तालिम कार्यक्रम सुरु भएको क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिए । कार्यक्रममा क्याम्पस प्रमुख तथा नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष गुप्ताले पछिल्लो १ सालमा क्याम्पसबाट सम्पादित क्रियाकलापहरूको संक्षेपीकरण प्रस्तुत गरेका थिए । उनले देशभरका शिक्षकहरूले काठमाडाैंमा करिब ४ सातादेखि जारी राखेको आन्दोलनप्रति संघले ऐक्यबद्धता जनाएको समेत जानकारी दिए ।
काठमाडाैं शिक्षा क्याम्पस ३४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले नगर क्षेत्रमा रहेका दुई वटै सामुदायिक क्याम्पस तथा अन्य शैक्षिक संस्थाहरूमा सीपमूलक शिक्षा प्राप्तिका लागि सहयोग पुर्याउँदै आएको बताए । नगरले विभिन्न प्रकारका छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै नगरप्रमुख गिरीले अबको शिक्षालाई जीवनोपयोगी बनाउन अत्यावश्यक रहेको धारणा राखे । भिडियोमा हेर्नुहोस नगरप्रमुखको भनाइः
काठमाडाैं शिक्षा क्याम्पस ३४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै त्रिविका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले भने देश बनाउने पहिलो आधार स्तम्भ नै उच्च शिक्षा भएकोले यसको सही व्यवस्थापन हुन नसकेमा देशले असंख्य अवसर गुमाउने धारणा राखे ।
व्यक्तिगत स्वार्थ र लहडका भरमा विश्वविद्यालय स्थापना भइरहेकोप्रति दुःख व्यक्त गर्दै उनले भएका विश्वविद्यालयमा विद्यार्थी कसरी टिकाउने भन्नेमा सरकारको ध्यान नगएको र सरकार जतिसक्दो छिटो र धेरै विद्यार्थी विदेश धपाउने ध्याउन्नमा रहेको भनाइ राखे ।
संसारका प्रमुख शहरमा पहिले विश्वविद्यालय स्थापना भएको र पछि शहर बसेको इतिहास भएको उदाहरण दिँदै उनले चन्द्रागिरि नगरले जग्गा उपलब्ध गराउने हो भने ढिलो चाँडो काठमाडाैं शिक्षा क्याम्पस विश्वविद्यालयका रूपमा रूपान्तरण हुने विश्वास लिए । क्याम्पसको लगानी, विद्यार्थीहरूको रूची, स्थानीय निकाय र स्थानीय बासीको सद्भावका कारण काठमाडाैं शिक्षा क्याम्पस देशका अन्य सामुदायिक तुलनामा अपवाद हुने तर्फ अग्रसर भइरहेको उनको भनाइ थियो ।
काठमाडाैं शिक्षा क्याम्पस ३४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै त्रिविका शिक्षा शास्त्र संकायका डीन प्रा.डा वेदराज आचार्य विश्वविद्यालयका शिक्षालाई बजारउन्मूख बनाउन अपरिहार्य भएकोले त्रिविले पाठ्यक्रमको ढाँचामा परिमार्जन गर्न तयारी थालेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवं विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले देशमा विश्वविद्यालय खुल्ने क्रम बढिरहेपनि तिनीहरूको दीगोपनका सम्बन्धमा गम्भीर संकटको बाछिटा देखा पर्न थालेको बताए । अध्यक्ष प्रा.डा. अधिकारीले देशका सयाैं सामुदायिक क्याम्पसको अवस्था विकराल हुँदै गएको धारणा राख्दै उनले सामुदायिक क्याम्पसमा संरचना निर्माण भइरहँदा विद्यार्थीको संख्यालाई ध्यान दिएर अबको दिनमा सहयोग दिइने बताए । प्रविधिमैत्री शिक्षा, प्रविधि मैत्री शिक्षक र भाैतिक संरचनाले नै वर्तमान विश्वको आवश्यकता भएकोले विश्वविद्यालय अनुदान आयोगले वर्षेनी प्रविधि मैत्री पूर्वाधारमा समेत जोड दिइरहेको प्रा.डा. अधिकारीको मत थियो । भिडियोमा हेर्नुहोस विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको सम्बोधनः
काठमाडाैं शिक्षा क्याम्पस ३४औं वार्षिकोत्सव समारोह क्याम्पस तथा त्रिविका वार्षिक परीक्षा उच्चतम अंक ल्याउने विद्यार्थी तथा उत्कृष्ठ नतिजा आत्मसाथ गर्ने विषयगत शिक्षकहरूलाई सम्मान गरिएको थियो ।