प्रतिनिधि सभाका ४ जना सदस्यको समिति हेरफेर

थानकोट ।
प्रतिनिधि सभाका ४ जना सदस्यको समिति हेरफेर भएको छ ।
शिक्षा मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई र राज्यमन्त्रीबाट बर्खास्तीमा परेका पूर्णबहादुर तामाङलाई संसदीय समितिमा मनोनयन गरिएको हो ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा सांसदहरू हेरफेरको सूचना सुनाएका हुन् । भट्टराई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य बनेकी छन् ।
मन्त्री बन्नुपूर्व पनि उनी सोही समितिको सदस्य थिइन् । मन्त्री बनेपछि संसदीय समितिबाट स्वतः बिदा हुने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ ।
ऊर्जा राज्यमन्त्रीबाट बर्खास्तीमा परेका तामाङ अर्थ समितिमा गएका छन् ।
एमाले सांसद पदम गिरी अर्थ समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा गएका छन् ।
राज्य व्यवस्था समितिमा एमालेको तर्फबाट सशक्त भूमिका खेलिरहेका रघुजी पन्त मन्त्री बनेपछि गिरीलाई राज्य व्यवस्थामा लगिएको हो ।