पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरमा आज आइतबार शोक बिदा

थानकोट ।
तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रमुख तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरपालिकाले आज आइतबार शोक बिदा दिएको छ ।
महानगरको प्रशासन विभागले शनिबार एक सूचना जारी गर्दै शोक बिदा सम्बन्धी जानकारी दिएको थियो ।
उनको शुक्रबारका दिन निधन भएको हो । उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ ।
वि. सं. २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए । उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो । हप्तामा २ दिन गराउनु पर्ने डाइलाइसिस गएको बिहीबार मात्र पनि गरिएको थियो ।
काठमाडौँ पञ्चायतका लागि २०४३ सालमा भएको निर्वाचनमा उनले प्रजातन्त्रवादीका तर्फबाट उम्मेदवारी दिएर विजय हासिल गरेका थिए ।
उपप्रधानपञ्चका रुपमा उनले सहर निर्माण, सहरी व्यवस्थापन र प्रवर्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्याउनुभएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको हो । यस दिन अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहनेछ ।
स्वर्गीय डंगोलको पार्थिव शरिरमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजक तथा जनप्रतिनिधिहरुले पुष्पगुच्छा अर्पण गरेका थिए । उनको शनिबार नै टेकु घाटमा अत्येष्टि गरिएको छ ।