राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने

Thankot Times

थानकोट ।

आठौँ शेरबहादुर खड्का स्मृति महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनलमा न्यु डाइमन्ड भलिबल क्लबलाई हराउँदै एपीएफ र त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लब फाइनल प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले न्यु डाइमन्डविरुद्ध ३–१ को जित निकाल्यो । एपीएफले न्यु डाइमन्डलाई २५–१६, २५–२२, २३–२५ र २५–२३ ले पराजित गरेको हो ।

त्यस्तै, शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । खेलमा पुलिसले आर्मीलाई २५–६, २५–२३ र २५–२२ ले हरायो ।

फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ भने विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *