स्वास्थ्य मन्त्री प्रदीप पाैडेलद्धारा थानकोट स्वास्थ्य चाैकी भवनको शिलान्यास

Thankot Times

थानकोट । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले चन्द्रागिरि नगरपालिका-०३ थानकोटस्थित स्वास्थ्य चाैकी भवनको शिलान्यास गरेका छन्। 

शुक्रबार बिहान आयोजित एक कार्यक्रमका बीच मन्त्री पाैडेलले स्वास्थ्य चाैकी भवनको शिलान्यास गरेका हुन् । 

कूल १ करोड ९७ लाख रूपैयाँ लागत अनुमान गरिएको सो स्वास्थ्य चाैकी भवन निर्माणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चन्द्रागिरि नगरपालिकाले बजेट व्यवस्थापन गर्नेछन् । जसका लागि हाल मन्त्रालयले  ३७ लाख र नगरले १० लाख उपलब्ध गराइसकेका छन् ।

चालु आर्थिक वर्षमा भवनको बाहिरी संरचना निर्माण भइसक्ने चन्द्रागिरि ३ का वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए ।

तीन तल्ले साे भवन निर्माण सम्पन्न भएपश्चात हाल रहेका स्वास्थ्य चाैकीबाट प्रवाह हुने सेवा थप विस्तार हुने बताइएकाे छ । 

सो अवसरमा नगरप्रमुख घनश्याम गिरीले स्वास्थ्य क्षेत्र प्रवर्द्धन गर्न नगरपालिकाले उच्च प्राथमिता दिएको बताए ।

स्वास्थ्य चाैकी भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री प्रदीप पाैडेलले जनताको स्वास्थ्य अवस्थाको बारेमा केन्द्र सरकारले भन्दा पनि स्थानीय सरकारले बढी जानकारी राख्ने भएकोले आउँदो आर्थिक वर्षबाट पालिकास्तरबाट नै नागरिकको स्वास्थ्य अवस्था स्क्रिनिङ सेवा सुरु गर्ने सरकारको लक्ष्य रहेको बताए । 

चन्द्रागिरि नगरमा निर्माण हुने क्रममा रहेको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको निर्माण सम्पन्नसँगै छिमेकी जिल्लाका नागरिकहरूले समेत सेवा लिन सहज हुने भएकोले सो अस्पतालको निर्माणमा सरकारले अग्रसरता लिइरहेको मन्त्री पाैडेलको भनाइ थियो । अर्काे प्रसंगमा बोल्दै मन्त्री पाैडेलले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेवीकाहरूको योगदान अतुलनीय रहेको जनाउँदै उनीहरूको सेवा सुविधा बढाउन अपरिहार्य रहेको धारणा राखे । चिकित्सकहरूको जारी आन्दोलन सम्बोधन गर्न आफु लागिरहेको मन्त्री पाैडेलको भनाइ थियो ।

“निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने छ ।  निजी मेडिकल कलेजहरुले निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेसम्म मन्त्रालयसँग सरोकोर राख्ने कुनै पनि काम अघि बढ्दैन । निर्णयबाट पछि हट्ने कुनै सम्भावना छैन ।” उनले भने ।

निजी मेडिकल कलेजले निर्वाह भत्ता ४८ हजार रुपैयाँ दिनु पर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने र त्यसपछि कलेजहरुले माग गर्दे आएको स्नातकोत्तरको सिट र शुल्क बढाउने कुरामा वार्ता गर्न सकिने मन्त्री पाैडेलको भनाइ थियो । 

मन्त्री पाैडेलले आज नै थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालको निर्माणाधीन भवन तथा परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल निर्माण स्थलको अवलोकन गरेका थिए । 

थानकोटस्थित स्वास्थ्य चाैकी भवनको शिलान्यास कार्यक्रममा चन्द्रागिरि नगरका नगरप्रमुख घनश्याम गिरी, प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, वडाध्यक्षहरू दुर्गालाल महर्जन, प्रल्हाद रिजाल, घनश्याम लुँइटेल, नगरका कार्यपालिका सदस्यहरू, नगर सभासदस्यहरू, नगरका विभिन्न शाखामा कार्यरत कमर्चारीहरू, महिला स्वास्थ्य स्वयंसेवीकाहरू तथा स्थानीय बासीको उल्लेख्य उपस्थिति रहेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *