काठमाडौं टावरका बारेमा मेयर बालेनको धारणा सार्वजनिक

थानकोट ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गम्भीर अनियमितता भएको र यसले महानगरपालिकालाई अर्बौं रुपैयाँको क्षति पुग्न सक्ने चेतावनी दिएका छन्।
राष्ट्रिय लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै महानगर प्रमुख बालेनले सामाजिक सञ्जालमा एक लामो विज्ञप्ति जारी गर्दै भवन निर्माणको मापदण्ड, कानुनी प्रक्रिया र आर्थिक लाभलाई लत्याएर नक्सा पास गर्न खोजिएको आरोप लगाएका हुन्।
प्रमुख शाहले २०७३ सालमा १२ तलासम्मको स्वीकृति दिँदा महानगरपालिकाले पाउने वार्षिक लाभ अत्यन्त न्यून रहेको र त्यसमा पनि चलखेल भएको आशंका व्यक्त गरेका छन्। उनले १२ तलालाई १९ तला बनाउँदा थपिने ७ तलाको भाडाबाट मात्रै वार्षिक २३ करोड रुपैयाँभन्दा बढी आम्दानी हुन सक्ने र ३० वर्षमा यो रकम १ अर्ब नाघ्ने हिसाब प्रस्तुत गरेका छन्। तर, यदि पुरानै सम्झौताअनुसार नक्सा पास भएमा महानगरपालिकाले ३ करोड मात्र प्राप्त गर्ने हुँदा ठूलो आर्थिक नोक्सानी हुने उनको भनाइ छ।
उनले भनेका छन्, ‘कहिले यस्तो साझेदारी देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउँदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो।’
प्रमुख शाहले भवन निर्माणमा मापदण्डको उल्लङ्घन, जबरजस्ती र अवैधानिक कामहरू भएको आरोप लगाएका छन्। उनले भवन निर्माणको मापदण्ड र नेपाल सरकारको निर्माण संहिताअनुसार सबै कुरा नमिल्दा पनि अवैधानिक किसिमले नक्सा पास गर्न खोजिएको दाबी गरेका छन्। उनले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अनुमति नलिइएको, संरचनात्मक विश्लेषण फेल भएको र महानगरपालिकाको आफ्नै भवन निर्माण सम्बन्धी कार्यविधि २०८० को उल्लङ्घन भएको जस्ता गम्भीर बुँदाहरू औंल्याएका छन्।
‘म आफैं स्ट्रक्चरल इन्जिनियर हुँ । सेस्मिक डिजाइन स्ट्रक्चरल एनालायसिस गर्दा NBC 105:2020 Standard मा १९ तला निर्माण गर्दा अध्ययनले भन्छ, ७० प्रतिशतभन्दा धेरै काेलम फेल हुन्छ । २०७८ साल पछि निर्माण हुने भवनका हकमा एनबीसी १०५:२०२० अनिवार्य गरिएको छ । यसैले नियमअनुसार स्ट्रक्चरल डिजाइन अप्रुभ नहुँदा सम्म नक्सा पास प्रक्रिया अगाडि बढ्न सक्दैन । स्ट्रक्चर एनालायसिस फेल हुँदा हुँदै पनि नक्सा पास गर्नु गम्भीर त्रुटि हो ।’ उनले भनेका छन् ।