काठमाडाैंका प्रजिअ तथा प्रहरी प्रमुखसहितको टोली नागढुङ्गा सुरुङ मार्ग अवलोकनमा

Thankot Times

थानकोट । 

काठमाडाैं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले चन्द्रागिरि नगरपालिका वडा नं. २ टोटोटोलस्थित राष्ट्रिय गौरवकाे आयोजना नागढुङ्गा-सिस्नेखोला सुरूङमार्गको अवलोकन गरेका छन् ।

बुधबार जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीसहित प्रजिअ तिवारीले सो आयोजना अवलोकन गरेका हुन् । टोटीटोलस्थित सुरुङ मार्गको पूर्वी पोर्टलबाट सो टोली धुनिवेशींस्थित सुरुङको पश्चिमी पोर्टलसम्म पुगेको थियो । 

टोलीमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काठमाडौंका सह-अनुसन्धान निर्देशक रिवेन कुमार गच्छदार, नरसिंह दल गण सिंहदरबारका प्रमुख सेनानी गणेश खड्का, सशस्त्र प्रहरी बल नेपाल नं २० उपत्यका गणबाट सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन घिमिरे लगायत थिए । 

सो क्रममा प्रजिअ तिवारीले सुरुङ मार्गका बारेमा आयोजना प्रमुखसँग ब्रिफिङ लिएका थिए । 

धादिङको धुनिवेशी नगरपालिका र काठमाडाैंको चन्द्रागिरि नगरपालिकामा  सुरुङ मार्गको काम भइरहेको छ । आयोजना अनुसार अहिलेसम्म फ्लाईओभरतर्फ ९५ प्रतिशत काम सम्पन्न भएको छ । यस्तै पेभमेन्टतर्फ इभाक्युसन टनेलको तलको ढलानतर्फ २ हजार ८ सय मिटरमध्ये १ हजार १ सय ५६ मिटरमा ढलान सम्पन्न भएको छ ।

यस्तै एप्रोट सडक, र्याम्प, र अन्य सडकतर्फ ९ हजार ९ सय ५६ मिटरमध्ये ६ हजार ५सय ६२ मिटरमा काम सम्पन्न भएको छ । यसरी हेर्दा ८६.३६ प्रतिशत भौतिक र ७६.६८ प्रतिशत वित्तीय प्रगति भएको छ ।

सुरुङमार्ग २०८२ को दशैँसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

२०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्गको २.६ किलोमिटरको लामो सुरुङ २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको थियो। 

सबै तस्वीरः जिल्ला प्रशासन कार्यालय, काठमाडाैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *