भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै

Thankot Times

थानकोट ।

भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपाल आउँदैछन् ।

खट्टर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा मङ्गलबार बिहान दुईदिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ ।

विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उनले मङ्गलबार नै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । मङ्गलबार नै दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

मङ्गलबार नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ४०० केभी क्षमताका दोधारा (लुम्की) बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

बुधबार खट्टर मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

बुधबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । विद्युतमन्त्री  खट्टरले बुधबार साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *