कलंकी ग्याङफाइट- सर्वोच्चको नजिर टेक्दै चन्द्रागिरिका २ सहित २१ जनाविरुद्ध ज्यान मुद्दा

थानकोट ।
चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गाअड्डा निवासी दोलखाका २३ वर्षीय अबेबहादुर तामाङ हत्या प्रकरणमा २१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ ।
गत चैत ११ गते राति साढे ७ बजे धारिलो हतियारहरू खुकुरी, रड, पाइप, बाँसका भाटा, ढुंगा, मुक्काले समेत प्रहार गरेर हत्या गरेको आरोप छ ।
अबेकै समूहका सन्दीप भुजेल, पवन तामाङ र पासाङ शेर्पा घाइते भएका थिए । उपचार पछि उनीहरु भने डिस्चार्ज भएका छन् ।
प्रहरी वृत्त कालिमाटीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत शुक्रबार २१ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुनेहरूमा काठमाडौंको स्युचाटारका अजित बुढाथोकी, खड्कागाउँका रोहित खड्का, दक्षिणकाली नगरपालिकाका डेबिट घले, मकवानपुका विनय वाइवा लामा, नुवाकोटका अनुज महर्जन, धादिङका सुजन तामाङ, चन्द्रागिरिका राज अर्याल र निश्चल थापामगर, धादिङका प्रदिप श्रेष्ठ, सुनसरीका सुसन श्रेष्ठ छन् ।
त्यसैगरी उदयपुरका साङ्गे तामाङ, मकवानपुरका निराजन गोले, तनहुँका गौतम कमर जोगी, धादिङका विनय आले मगर, सर्लाहीका निश्चल ब्लोन, सिन्धुलीका दानिएल विश्वकर्मा, उदयपुरका खेमराज मगर, पर्साका आशिष श्रेष्ठ, गोरखाका रन्जित श्रेष्ठ, नवलपसारी पूर्वका प्रमिन झ्याढी र संखुवासभाका प्रगेश गुरुङ रहेका छन् ।
यो समूहको आक्रमणबाट गम्भीर घाइते भएका अबेको कलंकीको शहीद ममोरियल अस्पताल मृत्यु भएको थियो ।
जाहेरीमा उल्लेख गरिएका दुई व्यक्तिको भने यकिन वतन नुलेको र खेलेका बखत पुन पुरक जाहेरीमा मुद्दा चलाएने अभियोगपत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा उनीहरुको बयान भइरहेको छ ।
बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।
उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १७७ को अनुसारको कसुरको मुद्दा दगाइएको छ । दफा १७७ मा कसैको ज्यान मार्ने नियतले काम गर्न नहुने उल्लेख छ । ज्यान मारेमा जन्मकैदको सजाय हुने उल्लेख छ ।
अनलाइनखबरबाट ।