नागढु्ङ्गा सुरुङ मार्ग निर्माणस्थलमा राँके जुलुस (भिडियो)

थानकोट ।
नागढुङ्गा सुरुङ मार्गको आयोजना निर्माणस्थलमा चन्द्रागिरि नगरपालिका वडा नं. २ का स्थानीयले मसाल जुलुस निकालेका छन् ।
शनिबार साँझ सयाैंको संख्यामा उपस्थित भएका स्थानीयहरूले टोटीपाखास्थित आयोजनाको कार्यालयबाहिर नाराबाजीसहित मसाल जुलुस निकालेका हुन् ।
सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच मसाल खोसाखोस भएको थियो । भिडियो हेर्नुहोस् ।
खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने, चर्किएका घरहरूको उचित क्षतिपूर्ति दिनुपर्ने, सिँचाइको वैकल्पिक व्यवस्था मिलाइनुपर्ने, सुरूङ मार्गको पश्चिम पोर्टलमा बगेको प्राकृतिक पानीलाई प्रभावित क्षेत्रमा ल्याउने व्यवस्था गर्नुपर्ने, सुरूङ मार्गको कारण सिर्जित खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक योजनाहरू सञ्चालन गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई योग्यता र क्षमताको आधारमा रोजगारीको अवसर दिनुपर्ने, खानेपानी आयोजनामा भएका अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने लगायत माग राख्दै चन्द्रागिरि नगरपालिका वडा नं. २ का स्थानीयले गत चैत्र ३ गते विरोध प्रदर्शन गर्दै आएका छन् ।
निर्माण कार्य ठप्प भएको २८औं सुरुङ मार्गको आयोजनाले भने गत चैत्र ३१ गते आइतबारबाट प्रहरी परिचालन गरि अवरुद्ध निर्माण कार्य सुरु गरेको छ । आयोजना अन्तर्गत धादिङको धुनिवेशीस्थित पश्चिमी पोर्टल, चन्द्रागिरि नगरपालिकास्थित पूर्वी पोर्टल, आयोजना कार्यालय र दुरसञ्चारस्थित फ्लाइओभर निर्माणस्थलमा सयाैंको संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।
नागढुङ्गा सुरुङ मार्गको आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीले भने माग पूरा नभएसम्म विरोध प्रदर्शन जारी रहने बताएका छ ।