चन्द्रागिरिमा भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु

Thankot Times

थानकोट ।

नेपाल सरकारले आज शनिबार देखि भोलि आइतबारसम्म (वैशाख ६ र ७ गते) देशभरका बालबालिकाहरूलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको छ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समूहका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो।

यस कार्यक्रम अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। यसै गरी १ देखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको लक्ष्य रहेको छ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदै छन्।

सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि ०५० सालमा ८ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम  २०५९ देखि देशभरि नै लागू गरिएको हो।

चन्द्रागिरि नगरपालिकामा ६ महिनादेखि ५ वर्षमुनिका १० हजार ३ सय ७६ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्ष मुनिका ९ हजार ५ सय २ जना बालबालिकालाई जुकाको औषधी खुवाइँदैछ ।

नगरका १५ वटै वडामा कार्यरत १४९ जना महिला स्वयंसेविकासहित अन्य स्वास्थ्यकर्मी यस अभियानमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *