देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै, चन्द्रागिरिमा कति छन लाभग्राही ?

थानकोट ।
सरकारले आज बैशाख ६ र भोलि बैशाख ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।
भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।
भिटामिन ‘ए’ करिब २२ लाख बालबालिकालाई र जुकाको औषधि करिब १९ लाख बालबालिकालाई खुवाइने तयारी सरकारको छ ।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी खटाइदै छ ।
कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने छ ।
सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
चन्द्रागिरि नगरपालिकामा ६ महिनादेखि ५ वर्षमुनिका १० हजार ३ सय ७६ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्ष मुनिका ९ हजार ५ सय २ जना बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य राखिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
साथै नगरपालिकाले ६ महिनादेखि २ वर्ष मुनिका बालबालिकालाई बालभिटा ट्याबलेट समेत वितरण गर्नेछ ।