चन्द्रागिरि नगरसहित दर्जनाैं सरकारी वेभसाइट ठप्प, सर्भर समस्याले सेवा अवरुद्ध

Thankot Times

थानकोट ।

सर्भर समस्याका कारण चन्द्रागिरि नगरसहित देशभरका अधिकांश सरकारी वेभसाइट ठप्प भएका छन्।

शुक्रबार बिहानदेखि सञ्चालनमा नरहेका यी वेभसाइटले नागरिकलाई सूचना र सेवाबाट वञ्चित गरेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको वेभसाइटसहित संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहका वेभसाइटमा समस्या देखिएको छ। डीएनएस सर्भरमा आएको खराबीले धेरैजसो वेभसाइट पूर्ण रूपमा बन्द छन् भने केही स्थानीय तहका वेभसाइट कहिले खुल्ने त कहिले बन्द हुने अवस्थामा छन्। प्रयोगकर्ताले वेभसाइट खोल्दा ‘दिस साइट क्याननट बी रिच्ड’ भन्ने सन्देश देखिएको छ।

सर्भरमा बारम्बार देखिने यस्तो समस्या सरकारी संयन्त्रको पुरानो रोग बनेको छ। सार्वजनिक सेवालाई अनलाइन र डिजिटल बनाउने कुरा बारम्बार दोहोरिँदा पनि सामान्य वेभसाइटसमेत सञ्चालन नहुनु विडम्बनापूर्ण छ।

लामो समयदेखि सरकारी सर्भरमा पटक–पटक समस्या देखिँदा पनि सम्बन्धित निकायहरू मौन छन्।

लगानी वृद्धि र नयाँ संरचना थप्ने काम भए पनि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमै सामान्य वेभसाइट र इन्टरनेट सञ्चालन हुन नसक्नु लज्जास्पद छ। करोडौँ रकम खर्च हुँदा पनि सामान्य वेभसाइट सञ्चालनमा ल्याउन नसक्नुले सम्बन्धित निकाय र अधिकारीहरूको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *