नेपाल पब्लिक क्याम्पस संघले शिक्षकहरूको जारी आन्दोलनलाई साथ दिने

थानकोट ।
काठमाडौं करिब २ सातादेखि सडक तताईरहेका शिक्षकहरूको आन्दोलनमा सामुदायिक क्याम्पसहरुकाे छाता संगठन नेपाल पब्लिक क्याम्पस संघले पनि ऐक्यबद्धता जनाएको छ ।
चैत्र २० गतेदेखि पेशागत हकहित, सेवा शर्त र सुबिधाको कानुनी प्रत्याभूतिका लागि देशभरि शिक्षाको अवसर पुर्याउँदै आएका सामुदायिक विद्यालयहरूको साझा संस्था नेपाल शिक्षक महासङ्घको आह्वानमा देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरू विगत १५ दिनदेखि सडक आन्दोलनमा होमिरहेको अवस्थामा नेपाल पब्लिक क्याम्पस संघले शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।
नेपाल पब्लिक क्याम्पस संघको बिहीबार बसेको कार्यकारिणी बैठकले शिक्षक आन्दोलन र त्यस आन्दोलनले उठाएका मागहरूको सन्दर्भमा पब्लिक क्याम्पस संघको गम्भीर ध्यानाकर्षण भएको साथै विद्यालय शिक्षा नै उच्च शिक्षाको आधारशीला भएको कारणले शिक्षकहरूको आन्दोलनले देशको समग्र शिक्षा प्रत्यक्ष रूपमा प्रभावित बन्ने सङ्केत देखिएको तथा शिक्षा क्षेत्रमा संलग्न सबैका लागि चिन्ता र चासोको विषय भएको निर्क्याैल गरेको छ ।
त्यस्तै, शिक्षकहरूको आन्दोलनले तत्काल हुन लागेको कक्षा १२ को परीक्षा तथा एसईईको परीक्षाफलमा समेत गम्भीर असर पुगेको र आन्दोलनले तत्काल र सहज निकास नपाए नेपालको उच्च शिक्षा तथा समग्र शैक्षिक प्रणालीसमेत धराशायी बन्ने निष्कर्ष निकालेको छ ।
नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ता तथा महासचिव गोविन्द बहादुर कार्कीले एक वक्तव्य मार्फत आन्दोलनरत शिक्षकहरूले उठाएका जायज मागसहितको शान्तिपूर्ण आन्दोलनप्रति देशभरिका करिब ६ सय सामुदायिक क्याम्पसहरूको छाता सङ्गठन नेपाल पब्लिक क्याम्पस सङ्घको ऐक्यबद्धता रहेको जनाएका हुन् ।
क्याम्पस संघले जारी गरेको ऐक्यबद्धता पत्रमा २०२८ सालको शिक्षा ऐनले वर्तमानका विषयवस्तुलाई सम्बोधन गर्न नसक्ने भएकाले विगतमा सरकारले आन्दोलनरत महासङ्घसँग सहमति गरेका विषयहरू वर्तमान सरकारले अविलम्ब पूरा गर्नुपर्ने ठहर गर्दै शैक्षिक क्षेत्रलाई तहसनहस गर्ने प्रपञ्च र जालझेल भएमा पब्लिक क्याम्पस संघ पनि शिक्षक महासङ्घसँगै आन्दोलनमा होमिने उल्लेख गरेको छ ।
संघले जारी गरेको ऐक्यबद्धता पत्र हेराैं