अन्तरपालिका सहकार्यः चन्द्रागिरि नगरले तीनवटा छिमेकी नगरलाई दियो १०-१० लाख सहयोग

थानकोट ।
अन्तर पालिका सहकार्य कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिकाले आफ्ना तीन छिमेकी नगरपालिकालाई सीमाक्षेत्रमा विभिन्न आयोजना सञ्चालनार्थ १०-१० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
चन्द्रागिरि नगरपालिकाले काठमाडाैंका कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका एवं धादिङको धुनिवेशी नगरपालिकालाई सो सहयोग गर्ने निर्णय गरेको हो ।
नगरको कार्यपालिका बैठकको निर्णयअनुसार सो सहयोग उपलब्ध गराइएकाे नगर प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमका लागि सम्बन्धित तीनवटै नगरका प्रतिनिधिसँग सम्झौतामा समेत गरेको बताइएको छ ।
अन्तरपालिका सहकार्य मोडलको अवलम्बनले सामूहिक लगानीलाई प्रोत्साहन गर्ने हुँदा पुँजी निर्माणमा सघाऊ पुर्याउनुका साथै लागत घटाउन समेत मद्दत गर्ने नगरप्रमुख घनश्याम गिरीको भनाइ छ । यस किसिमका सहकार्यले साधन स्रोत र पूर्वाधारमा गरिने दोहोरो लागत र व्ययभार घट्ने छ र आर्थिक तथा उद्यमशीलताका क्षेत्रमा गरिने लगानी तथा क्रियाकलापबाट पालिकाहरूको आन्तरिक आयमा वृद्धि हुने अपेक्षा गरिएको नगरप्रमुख गिरीले बताए । साँध सीमा जोडिएका पालिकाहरूसँग सहकार्य हुँदा एकीकृत र दिगो विकासतर्फ समेत उन्मुख भइने र नागरिकको विकासप्रतिको अपेक्षासमेत सम्बोधन गर्न सकिने नगरप्रमुख गिरीको भनाइ थियो ।
सो सहयोग अन्तर्गत चन्द्रागिरिसँग सीमा जोडिएको कीर्तिपुर नगरपालिका वडा नंं ४ को थापागाउँस्थित खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । सो स्थानमा गत असोज दोश्रो साताको वर्षाबाट क्षति पुगेको थियो ।
यस्तै, दक्षिणकाली नगरपालिकाका लागि चन्द्रागिरि नगरले उपलब्ध गराउने सहयोग रकम १० लाख रुपैयाँ दक्षिणकाली नगरपालिका वडा नं. ८ को टिमुरबोट-ओबी डाँडा-घँङ्गेरी हुँदै फास्ट ट्रयाक जोड्ने मोटरबाटो स्तरोन्नतिका लागि प्रयोग हुनेछ ।
उता धादिङको धुनिवेशी नगरले अन्तर पालिका सहकार्य कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरबाट प्राप्त गरेको सहयोग रकम चन्द्रागिरि वडा नं. २ को पिपलामोड-निशाकोट-डुडे भञ्जाङ्ग सडक स्तरोन्नतिमा खर्चनेछ ।