नागढुङ्गा सुरुङ मार्गको आयोजना कार्यालयमा स्थानीयको विरोध प्रदर्शन, वार्तामा आउन आग्रह

थानकोट ।
नागढुङ्गा सुरुङ मार्गको आयोजना कार्यालयमा स्थानीयले बुधबार बिहान विरोध प्रदर्शन गरेका छन् ।
नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो ।
सो समितिका संयोजक गोपी सुर्खेतीले सुरुङ मार्ग आयोजनाले सुरक्षाकर्मी परिचालन गरि सुरुङ मार्गको आयोजनाको निर्माण सुरु गरिनु दुःखद भएको बताउँदै स्थानीयलाई थिचोमिचो गरि गरिने विकास के लागि भन्दै प्रश्न गरेका छन् ।
उनले वार्ता र छलफलमा नजाने र पेलेरै कार्य जारी राख्ने आयोजनाको रणनीति हो भने सो पछि विकसित हुने घटनाक्रमको जवाफदेही आयोजना नै हुने चेतावनी दिएका छन् । उनले यथासिघ्र वार्ता र छलफलबाट समस्या समाधनका लागि आयोजना पक्षसँग अनुरोध समेत गरेका छन् ।
मन्त्रिपरिषद्को निर्णय नै नमान्ने आयोजनाको रवैयाप्रति संयोजक सुर्खेतीले आक्रोश व्यक्त गरे । उनले स्थानीय बासीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।
खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने, चर्किएका घरहरूको उचित क्षतिपूर्ति दिनुपर्ने, सिँचाइको वैकल्पिक व्यवस्था मिलाइनुपर्ने, सुरूङ मार्गको पश्चिम पोर्टलमा बगेको प्राकृतिक पानीलाई प्रभावित क्षेत्रमा ल्याउने व्यवस्था गर्नुपर्ने, सुरूङ मार्गको कारण सिर्जित खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक योजनाहरू सञ्चालन गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई योग्यता र क्षमताको आधारमा रोजगारीको अवसर दिनुपर्ने, खानेपानी आयोजनामा भएका अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने लगायत माग राख्दै चन्द्रागिरि नगरपालिका वडा नं. २ का स्थानीयले चैत्र ३ गतेबाट आन्दोलन सुरु गरेकोमा सुरुङ मार्गको आयोजनाले चैत्र ३१ गते आइतबारबाट प्रहरी परिचालन गरि अवरुद्ध निर्माण कार्य सुचारु गरेको थियो ।
नागढुङ्गा सुरुङ मार्ग निर्माणस्थलमा १ सय भन्दा धेरै प्रहरी परिचालन (भिडियो)