नागढुङ्गा सुरुङमा प्रहरी पहरा, कीर्तिपुरका प्रहरीसमेत तैनाथ, १३ करोड रुपैयाँ बराबरको क्षति दाबी

Thankot Times

थानकोट ।

काठमाडाैं र धादिङ जिल्लामा निर्माणाधीन राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य लगातर २८ दिन रोकिँदा १३ करोड रुपैयाँ बराबरको क्षति भएको सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । 

चैत्र ३ बाट चन्द्रागिरि नगरपालिका वडा नं. १ वाँडभञ्ज्याङका स्थानीयले यसअघि आयोजनाले गरेको सहमतिको दीर्घकालीन कार्यान्वयन लगायतको विषय निकाल्दै आयोजनाको निर्माण कार्य ठप्प पारेकोमा सरकारले आइतबार प्रहरी परिचालन गरेरै निर्माण कार्य अघि बढाएको हो । 

आइतबार बिहान चन्द्रागिरि नगरपालिका-२ टोटीटोलस्थित सुरुङमार्गको पूर्वी पोर्टलमा निर्माण कार्य सुरु गर्न थालिएपछि सो रोक्न पुगेका सुरुङ मार्ग माथि घरजग्गा भएका स्थानीयहरूलाई धरपकड गरी प्रहरीले नियन्त्रणमा लिएको थियो । सो क्रममा नियन्त्रणमा लिइएका ६ जना स्थानीयलाई प्रहरीले साँझ छाडेको थियो । 

सुरुङ मार्गको धादिङतर्फ समेत प्रहरी परिचालन गरिएका छन भने चन्द्रागिरिको टोटीटोल र दुरसञ्चार क्षेत्रमा समेत प्रहरी परिचालन गरी आइतबारबाट काम सुचारु गरिएको आयोजनाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । 

उनले भने, ‘स्थानीयले आन्दोलन गरेर आयोजना निर्माण ठप्प गरेको एक महिना भयो । न उहाँहरूले भनेको सुन्ने न उहाँहरू सहमतिमा आउने । आइतबारबाट हामीले प्रहरी परिचालन गरेरै भएपनि निर्माण कार्य अघि बढाएका छौं । अब काम चलिरहन्छ, कुनै पनि अवस्थामा काम रोकिँदैन ।’ 

आइतबार स्थानीय प्रहरी यूनिटका अतिरिक्त कीर्तिपुरबाट समेत प्रहरी बल मगाएर आयोजनाको कार्य सुचारु गरिएको पन्थीले जनाए । आयोजनास्थलमा ८० जना प्रहरी परिचालन गरिएका छन् । 

आयोजनाका अनुसार निर्माण कार्य ठप्प भएको भन्दै निर्माणकर्ता कम्पनी जापानको हाजमा एण्डो कर्पोरेशनले दैनिक ५० लाख रुपैयाँको दरले क्षति भएको भन्दै आयोजनासँग २६ दिनको १३ करोड रुपैयाँ क्षतिपूर्ति समेत माग गरेको जनाइएको छ।

स्थानीयले सुरुङमार्ग क्षेत्रमा खानेपानी निःशुल्क वितरण व्यवस्था हुनुपर्ने, सिँचाइका लागि दीर्घकालीन व्यवस्था गर्नुपर्ने, सुरुङमाथि परेका जग्गाको मुआब्जा दिनुपर्ने लगायतका माग गर्दै आयोजनाको काम ठप्प पारेका थिए। सुरुङमार्ग क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने पनि उनीहरूको माग छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ