प्रहरीको पहरामा नागढुङ्गा सुरुङको निर्माण कार्य सुचारु, पक्राउ परेका सबै जना रिहा

थानकोट ।
गत चैत्र ३ गतेबाट स्थानीयले अवरोध गरेपछि स्थगित नागढुङ्गा सुरुङको निर्माण कार्य आइतबारबाट सुचारु गरिएको छ ।
प्रहरी सुरक्षामा सुरुङमार्गको काम पुनः अघि बढाइएको हो ।
निर्माणको काम अन्तिम चरणमा रहेकै बेला आयोजनाले आफूहरूका माग पूरा नगरेको भन्दै स्थानीयले काममा अवरोध गरेपछि आयोजनाको काम ठप्प थियो ।
चन्द्रागिरि नगरपालिका-२ स्थित टुटीपाखाका स्थानीयले चैत ३ देखि काठमाडौं र धादिङ दुवैतर्फ काम रोकेका थिए ।
आइतबारबाट दुवै जिल्लामा सुरुङभित्र र बाहिर नेपाल र सशस्त्र प्रहरीको सुरक्षामा रोकिएको काम पुनः सुरु गरिएको हो ।
दुरसंचार क्षेत्रमा निर्माणाधीन फ्लाइओभरमा पनि प्रहरी राखेर काम गराइएको छ ।
निर्माणमा अवरोध गर्न खोज्ने ६ जनालाई नियन्त्रणमा लिएर आइतबार साँझ छाडिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले बताए ।