चारदेशीय टी-२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदै

थानकोट ।
चारदेशीय टी-२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा हुने फाइनल खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ ।
लिग चरणको अन्तिम खेलमा हिजो नेपाल र हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका थिए ।
समूहमा शीर्ष स्थानमा रहँँदै नेपाल फाइनल खेल्न लागेको हो । नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
यसअघि कुवेतले कतारलाई हराएर नेट रनरेटका आधारमा फाइनल पुगेको हो ।
दोस्रो र तेस्रो स्थानको लागि अहिले घरेलु टोली हङकङ र कतारबीच खेल भइरहेको छ ।