नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम २९ दिनदेखि ठप्प

थानकोट ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम २९ दिनदेखि ठप्प छ ।

स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि चैत ३ गतेदेखि आयोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन् ।

कात्तिकदेखि सो सुरुङमार्ग सञ्चालनको तयारी छ ।

स्थानीयले सुरुङमार्ग क्षेत्रमा खानेपानी निःशुल्क वितरण व्यवस्था हुनुपर्ने, सिँचाइका लागि दीर्घकालीन व्यवस्था गर्नुपर्ने, सुरुङमाथि परेका जग्गाको मुआब्जा दिनुपर्नेलगायतका माग गर्दै आयोजनाको काम ठप्प पारेका हुन् । सुरुङमार्ग क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने पनि उनीहरूको माग छ । अवरोधका कारण सुरुङमार्गकोे भुइँ ढलान, पहुँच सडक निर्माण, फ्लाइओभर निर्माण, पहिरो नियन्त्रणका लागि वालिङ (ल्यान्ड साइड प्रोटेक्सन) उठाउनेलगायतका काम अवरुद्ध छन्

काम अवरुद्ध हुँदा जापानी कम्पनीको हाजमा एन्डो कर्पोरेसनले दैनिक ५० लाख रुपियाँ क्षतिपूर्ति माग गरेको छ । आयोजनामा १५ जना जापानीसहित तीन सय नेपाली कार्यरत छन् । सुरुङमार्गभित्र अक्सिजन, लाइट, भ्यान्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडान भइरहेको थियो । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डरपास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभरपास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण चरणमा छ । आयोजनाका प्रवक्ता रमेश कोइरालाका अनुसार काम अवरुद्ध हुनुअघि चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम् प्रविधि प्रयोग भइरहेको छ ।

आयोजनाका अनुसार दुरसञ्चारदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म दुई किलोमिटर ३०७ मिटरमध्ये एक किलोमिटर ९९५ मिटर कालोपत्र भइसकेको छ ।

धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *