चार देशीय टी-२० शृङ्खला: नेपाल फाइनलमा, उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्ने

थानकोट ।
हङकङमा जारी चार देशीय टी-२० शृङ्खलाको उपाधिका लागि नेपाल र कुवेत खेल्ने भएका छन् ।
शनिबार भएको लिग चरणको अन्तिम खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङ दुवै टोलीले अङ्क बाँडेपछि नेपाल फाइनलमा पुगेको हो ।
नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो ।
तीन खेलमा दुई जीत र एक खेल नतिजाविहिन भएपछि नेपालको पाँच अङ्क भयो ।
एक खेल मात्र जितेको हङकङको तीन अङ्क छ ।
यसअघि कुवेतले कतारलाई हराएर चार अङ्क जोड्दै नेटरनरेटका आधारमा फाइनल पुगेको हो ।
हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल शुरु हुन ढिलाइ हुनुका साथै फेरि पानी पर्न थालेपछि खेल रद्द भयो ।
नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
फाइनल खेल भोलि हुनेछ ।