थानकोटेले ठाडो ढुङ्गा बिर्सिए, अब हाइभिजन कोलोनी पो पपुलर !

थानकोट ।
चैत्र ११ गते सतुङ्गलका रामेश्वर श्रेष्ठले फेसबुमा एक पोष्ट गरे ।
चन्द्रागिरि नगरपालिकाले अहिले जारी राखेको डिजिटल नम्बर प्लेट टाँस्ने कार्यप्रति उनको व्यङ्ग्यात्मक आक्रोश निकै हदसम्म जायज थियो । उनले विष्णुदेवी मन्दिर नजिकै एक घरमा टाँसिएको हरियो नम्बर प्लेटमा विन्ध्यवासिनी सडक के कति कारण नामाकरण गरेको भनि प्रश्न सोधेका छन् । उनैले लेखेका छन् ” शायद विन्ध्यवासिनी नामको जग्गा किने पछि जन्मेको हुनु पर्छ होला !!”
उसो त चन्द्रागिरि नगरका कैंयन ठाउँका प्रचलित नाउँ अहिले प्रयोग हुन छाडेका छन् ।
केही वास्तविक उदाहरण
मानिसहरू चन्द्रागिरि नगरमा ईटाखेल भन्ने नाउँ पनि थियो भन्ने भुल्न थालिसके, कसैले (बुढा पाकाले) घर ईटाखेल हो भन्यो भने कहाँ हो यो ठाउँ भनेर उल्टै प्रश्नको सामना गर्ने अवस्था भएको छ । बरू अरविन्द आश्रम पपुलर छ, ईटाखेलको सट्टामा । वि.सं १९८५ सालमा एक विदेशीले तयार पारेको नक्सामा ईटाखेल देखाइएको छ । तस्वीरमा हेर्नुहोस् ⇓
यो नक्सामा उल्लेख भएका मध्ये अधिकांश स्थान अहिले कहाँ पर्दछ भनि यस क्षेत्रमा केही पुस्ता बिताएका मानिसलाई सोध्ने हो भने उनीहरू नै कन्फ्यूज भइसकेका छन् । जस्तै, यो माथिको पुरानो नक्सामा चन्द्रागिरि नगरका सोल्टीथूम, हात्ती गाैंडा, ओडारे, सिग्ते, पञ्चकन्या, कुमति ठाउँ अहिले कहाँ पर्दछ भनेर सोधि खोजी गर्ने हो भने मुस्किलले पत्तो पाइएला ।
२-४ घर बन्ने बित्तिकै नयाँ मार्गको नाम जुराउन परिहाल्ने । अझ गजब त चोकबाट सडक भित्र छिर्दा अग्रभागको घरधनीको नाम वा उनको घरसँग सम्बन्धित नामले नै सो सडक मार्ग चिनिने भो (जस्तैः कुनै क्षेत्रमा टोलको नाउँ सुन्दरबस्ती राखिएछ, बुझ्दै जाँदा सो टोल छिर्ने मुखैको घर धनीको नाउँ सुन्दर रहेछ रे) । स्थानीय तहले यस प्रवृत्ति रोक्न सायदै ध्यान दिएको छ ।
स्वभाविक रूपमा घर निर्माण हुँदै जाँदा सहज पहिचानका लागि सडक मार्ग, वस्ती, टोलको नामाकरण हुनै पर्दछ तर इतिहास, लोकोक्ति, किंंवदन्तीलाई वेवास्ता गरिँदा सदियाैंदेखिका पहिचान मेटिँदै गएका छन् ।
अर्को उदाहरण यहाँ तल उल्लेख गरिएको तस्वीर हाल चन्द्रागिरि नगरपालिका वडा नं. ७ वाणस्थलीको हो । वाणासुरले राज गरेको वा उनको दरबार भएको क्षेत्रकाे नामबाट यस स्थानकाे नाम वाणस्थली भएको बुझिन्छ । यस क्षेत्रमा जमिन केही गहिराइमा खन्दा अझैपनि केही प्राचीन वस्तु भेटिएको सम्बन्धित जग्गाधनीले बताउने गरेका छन्। यहाँ दृश्यमा रातो घेरामा देखिएको शिलालेखको महत्व, इतिहास खासै कतै उल्लेख भएको छैन् । बरु स्थानीय (रैथाने) ले यो ठाउँको पहिचान नै यही ढुङ्गाबाट हुने गरेको बताउँछन् । ढुङ्गा ढाडो पारेर गाडिएकोले ठाउँको नाउँ नै ठाडोढुङ्गा भयो । जुन नाउँ स्वभाविक छ ।
यही ढुङ्गाबाट करिब १ सय मिटर उत्तर पूर्वमा करिब १७-१८ वर्षअघि जग्गामा डोजर लगाएर सम्याउँदै बेच्न थाल्दा व्यवसायीले हाइभिजन नाउँ जुराए । जग्गा बिक्री भयो, घर बन्न थाले । अहिले सो क्षेत्रमा खाली जग्गा छैन, कसैले घर कहाँ भन्दा हाइभिजन भन्न थाले, १ सय मिटर पश्चिममा रहेको ठाडोढुङ्गा ओझेलमा !
स्थानीयको अनुभवमा यस ठाडो ढुङ्गामा पहिले केही लेखिएको थियो तर अलपत्र अवस्थामा भएपछि केटाकेटीले गुच्चा ठोकाउँदा ती अक्षर मेटिएका छन् । यो ढुङ्गा के को संकेत थियो यस बारेमा अध्ययन कसले कहिले गर्ला?