भारतका कृषिमन्त्री चाैहान चन्द्रागिरि हिल्समा

थानकोट ।
भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान सहित भारतीय राजदूत महामहिम नवीन श्री वास्तव र विशिष्ट पाहुनाहरूले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् ।
मन्त्री चौहान सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरेका थिए ।
भ्रमणको क्रममा मन्त्री चौहानले पर्यटकहरूका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भनी प्रशंसा गरे । मन्त्री चौहानसहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।
भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा परिवारसहित विशेष पूजा-अर्चना गरेका थिए । उनले सो आध्यात्मिक अनुभवलाई शान्तिपूर्ण र जीवन्त स्मृति हुने भनी वर्णन गरे ।
मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेको मन्त्री चौहानको भनाइ छ। यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सवैलाई लोभ्याउने पनि मन्त्री चौहानले उल्लेख गरेका छन् ।