कलंकी लगायतका स्थानबाट हराएका २० वटा दुई पाङ्ग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण

थानकोट ।
काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २० वटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सो कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, इमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँ बसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
मंगलबार बुझाइएका २० वटासहित ३८६ वटा सवारी साधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३७ वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ५४ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
मंगलबार सम्बन्धित धनीलाई बुझाइएका २० वटा सवारी साधनहरू हराएको भनी विभिन्न मितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए ।