प्रचण्डका घरबेटीको नैकापमा रहेको जग्गा लिलामी, काठमाडौंमा रहेका अन्य ५ घरजग्गा लिलामीमा

Thankot Times

थानकोट । 

शैलुङ कन्सट्रक्सनका मालिक ठेकेदार शारदाप्रसाद अधिकारीको नाममा रहेका विभिन्न स्थानका घरजग्गा लिलामी भइरहेको छ। नबिल बैंकले ऋण असुलीका क्रममा ठेकेदार अधिकारीको नाममा रहेको विभिन्न स्थानका घरजग्गा लिलामीमा चढाएको हो।

बैंकले माघमै उनका घरजग्गा लिलामीको सूचना सार्वजनिक गरेको थियो।

अधिकारी माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुन्। अधिकारीको खुमलटारस्थित एक घरमा प्रचण्ड भाडा बसिरहेका छन्।

नबिल बैंकले अधिकारीका नाममा रहेका पाँच ठाउँका घरजमिन आफ्नो नाममा ल्याएको छ। यसमध्ये दुई ठाउँको लिलामी पनि गरिसकेको छ।

अधिकारीका नाममा रहेको ललितपुर जिल्ला प्रशासन कार्यालय नजिकै रहेको ४१ आना, मानभवनमा रहेको पाँचतले घर सहित एक रोपनी जग्गा, स्युचाटारमा साढे दुईतले घरसहित ३.१ आना जग्गा, नैकाप खड्का गाउँमा रहेको ६ आना र खुमलटारमा रहेको ६.५ आना जग्गा बैंकले आफ्नो बनाएको हो।

यीमध्ये नैकाप र स्युचाटारमाको सम्पत्ति लिलाम बिक्री भइसकेको बैंक स्रोतले जनाएको छ, सेतोपाटीमा खबर छ।

अब ललितपुर प्रशासन कार्यालय नजिकको ४१ आना र खुमलटारको ६.५ आना जग्गा आउँदो वैशाख पहिलो सातासम्ममा बिक्री भइसक्ने बताइएको छ।

बैंकले ठेकेदार अधिकारीबाट ७० करोड रूपैयाँ उठाउन बाँकी छ। हालसम्म एक करोड १० लाख रूपैयाँ बराबरको खराब कर्जा उठाइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *