नागढुंगा सुरुङमार्ग निर्माण २३ दिनदेखि ठप्प, स्थानीय सरकार पनि माैन

थानकोट ।
चन्द्रागिरि नगरपालिका र धुनिवेशी नगरपालिकामा निर्माण भइरहेको राष्ट्रिय गाैरवको परियोजना नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम लगातर २३ दिनदेखि ठप्प भएको छ ।
सुरुङ मार्ग कहिलेबाट निर्माण सुरु हुन्छ ? यसको जवाफ न संघ सरकारसँग छ, न स्थानीय सरकारसँग । काम सुरु गर्न न सरकारबाटै कुनै प्रयास भएको छ न स्थानीयले सहजीकरण नै गरेका छन् ।
स्थानीयका मागका सम्बन्धमा चन्द्रागिरि नगरपालिका वडा नं. १ र २ का जनप्रतिनिधिले यथोचित प्रयत्न नगरेको स्थानीयको भनाइ छ यद्यपी आयोजनाले पूरा गर्छु भनेका मागसमेत पूरा नगरिदिएपछि स्थानीयले काम रोकेको दाबी चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का जनप्रतिनिधि लवराम सुवेदीको छ । सुरुङ मार्गमा भइरहेको अवरोधका विषयमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठले कुनै प्रतिक्रिया दिएका छन् । साथै, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरूको धारणा समेत सार्वजनिक भएको छैन् ।
चन्द्रागिरि नगरपालिका वडा नंं १ दहचोक र वडा नं. २ बाँडभञ्ज्याङका फरक फरक समुह बनाएका स्थानीयको अवरोधका कारण सुरुङको निर्माण ठप्प बनेको हो ।
नेपालकै पहिलो सडक सुरुङमार्ग सञ्चालनमा आउने अन्तिम तयारीमा रहेकै बेला काम रोकिँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय निकाय उदासिन बनेको छ । सामान्य औपचारिकता पूरा गर्न मात्र समाधानको पहल गरिए पनि दिगो समाधानमा कसैले प्रयत्न नगर्दा मुलुकको पहिलो सडक सुरुङमार्गको काम अघि बढ्न सकेको छैन् ।
स्थानीयले परियोजनामार्फत भइरहेका तथा चालु रहेका कार्यक्रम या परियोजनाबाटै निरन्तर सञ्चालन गर्नुपर्ने वा सडक विभागमार्फत सञ्चालन गरिनुपर्ने माग अघि सारेका छन् ।
स्थानीयको अवरोधपछि सुरुङ मार्गको पूर्वी, पश्चिमी पोर्टल र फ्लाइओभर निर्माणस्थलको काम समेत ठप्प बनेको छ ।