चन्द्रागिरि हिल्समा भारतीय अभिनेता श्रीनिवास

Thankot Times

थानकोट ।

भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताएका छन्।

दक्षिण भारतीय चलचित्र ‘टाइसन नाइडु’को छायाङ्कनका लागि नेपाल आएका अभिनेता श्रीनिवासले चन्द्रागिरिमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालीको माया र सत्कारको प्रशंसा गर्दै लागि धन्यवाद दिए।

उनले भने, ‘म नेपाल आउन चाहेर पनि आउन सकेको थिइनँ। कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ। यो चलचित्रको कथा नेपालसँग जोडिएकाले हामीले यही आएर छायाङ्कन गर्ने निर्णय गरेका थियौँ। यो चलचित्रले नेपाली कलाकारलाई दक्षिण भारतीय चलचित्रसँग जोड्नेछ।

चलचित्र द्वन्द्वप्रधान रहेको जानकारी दिँदै आफूलाई नेपाली खाना र परिकार मन परेको उनले बताए। नेपालमा पोखरापछि काठमाडौंमा छायाङ्कन गरिएको जानकारी दिँदै उनले पशुपतिनाथको दर्शन गरेर मात्र स्वदेश फर्किने बताए।

‘मलाई यहाँको हिमाल हेर्न मन छ, सगरमाथा पुग्न मन छ तर अहिले सम्भव छैन्। यहाँका खानाले समेत मलाई मोहित बनाएको छ’, उनले भने।

सन् २०१४ मा ‘अल्लुडु सीनु’ नामक तेलुगु चलचित्रमार्फत अभिनय यात्रा सुरू गरेका उनले अहिलेसम्म १० चलचित्रमा काम गरिसकेका छन्। हाल छायांकन भइरहेको ‘टाइसन नाइडु’मा नेपाल प्रहरीको भूमिकामा अभिनेता किरण श्रेष्ठ रहेका छन्।

‘मैले यसअगाडि पनि उत्तर भारतीय शृङ्खलामा काम गरेको थिएँ। अहिले दक्षिण भारतीय चलचित्रमा काम गर्न पाउँदाको अनुभव छुट्टै छ, ठूलो बजेट भएकाले पनि उहाँहरूले भव्यता खिच्नुहुन्छ र योजनाअनुसार नै चल्नुहुन्छ। अन्य काम भने हाम्रो नेपाली चलचित्रजस्तै छ’, अभिनेता श्रेष्ठले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *