काठमाडाैंको वायु प्रदुषण गराउन थानकोट-चित्लाङ सडकपनि एक कारक !

थानकोट ।
काठमाडाैं उपत्यकामा केही दिनयता आँखा-नाक पोल्ने, घाँटी खस्खसाउने समस्याले मानिसहरू ग्रस्त भएका छन् ।
रूघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल जानेहरूको संख्या पनि बढेको छ।
कतिपयलाई छालासम्बन्धी रोग देखापरेका छन भने कतिलाई धुलो र धुवाँको एलर्जीले पिरोलेको छ।
यी सबै स्वास्थ्य समस्या वायु प्रदूषणले निम्त्याएका हुन्।
एक सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा प्रदूषणको मात्रा हानिकारक तहमा पुगेको छ। हामीले सास फेर्ने तल्लो वायुमण्डल धुलोधुवाँले भरिएको छ। हावामा आँखाले ठम्याउन नसकिने हानिकारक रसायनयुक्त कणहरू थुप्रिएका छन्। ती हानिकारक कण हामीले सास फेर्दा सिधै फोक्सोमा पुग्छ, जसले जनस्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ। श्वास प्रश्वाससम्बन्धी दीर्घकालीन बिरामीहरूलाई त मृत्युकै मुखमा धकेल्छ।
बुधबार र बिहीबारको तुलनामा शुक्रबार काठमाडौं उपत्यकाको हावाको गति केही मात्रामा बढेको छ।
वातावरणविद् भूषण तुलाधरका अनुसार हामीले सास फेर्ने हावा दुइटा कारणले प्रदूषित भइरहेको छ। पहिलो हो, मानवीय कारण। हामी आफ्नै गतिविधिले अनिष्ट निम्त्याइरहेका छौं।
अहिले देशभर झन्डै तीन सय ठाउँमा डढेलो लागेको छ। वायु प्रदूषणको अर्को महत्त्वपूर्ण स्रोत सडक निर्माण हो।
अहिले काठमाडौं उपत्यकाभित्र धमाधम विद्युत लाइन भूमिगत गर्ने, खानेपानी पाइप बिछ्याउने, खानेपानी चुहावट रोक्न सडक भत्काउने काम चलिरहेको छ। चक्रपथ लगायत सडक खण्ड विस्तार क्रममा छन्।
त्यस्तै, काठमाडौं जोड्ने सातैवटा राजमार्ग सद्दे छैनन्। कान्ति लोकपथ, पृथ्वी राजमार्ग, बिपी, सूर्यविनायक–धुलिखेल, थानकोट–चित्लाङ, दक्षिणकाली–हेटौंडा लगायत सबै सडक मर्मत र विस्तार क्रममा छन्।
वातावरणविद्हरूका अनुसार काठमाडौं उपत्यका कचौरा आकारको छ। यहाँको वायुमण्डलमा रहेको धुवाँ, धुलो हट्न कि ठूलो पानी पर्नुपर्छ, कि ठूलो हावा चल्नुपर्छ। दुवै नहुँदा तल्लो वायुमण्डल धुँवा, धुलोको तहले भरिन्छ।
मौसमविद् शान्ति कँडेल त अहिले काठमाडौंले धुवाँ र धुलोको ब्ल्यांकेट ओढिरहेको बताउँछिन्। यसो हुनुमा सवारी साधनको चाप पनि उत्तिकै दोषी छ।
अक्षर काका/सेतोपाटी