नेपाल पब्लिक क्याम्पस संघ र नेपाल उच्च शिक्षा प्रतिष्ठानबीच द्विपक्षीय सम्झाैतामा हस्ताक्षर

Thankot Times

थानकोट । 

नेपालका करिब ६ सय सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघ र नेपाल उच्च शिक्षा प्रतिष्ठान (एनएचइएफ) बीच नेपालको शैक्षिक उन्नयनका पक्षमा सहकार्य गर्ने विषयमा द्विपक्षीय सम्झाैतामा हस्ताक्षर भएको छ । 

शुक्रबार चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसमा सम्पन्न द्विपक्षीय सम्झाैतामा हस्ताक्षर कार्यक्रममा संघका तर्फबाट सो क्याम्पसका प्रमुख समेत रहेका नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुध्नप्रसाद गुप्ता र प्रतिष्ठानका तर्फबाट अध्यक्ष  प्रा.डा.तीर्थराज खनियाँले सम्झाैतापत्र आदानप्रदान गरेका हुन् । खनियाँ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । 

नेपालको उच्च शिक्षा क्षेत्रमा भएका अवसर, चुनाैती र सम्भावनासँग सन्दर्भित भएर पर्याप्त अध्ययन र अनुसन्धान हुन नसकिरहेको परिपेक्ष्यमा नेपाल उच्च शिक्षा प्रतिष्ठानको स्थापना गरिएको संस्थाका अध्यक्ष प्रा.डा. खनियाँको भनाइ छ । 

हामीले कक्षा १२ सम्मको शैक्षिक गतिविधिलाई अचाक्ली महत्व दियाैं तर कक्षा १२ पछि विद्यार्थी कहाँ के गर्दैछन्, के पढ्दैछन् भन्ने नै बिर्सियाैं जसका कारण एअरपोर्टमा दैनिक हजाराैं विद्यार्थी परदेशमा उच्च शिक्षाको निहुँमा बाहिरएका छन्-खनियाँले भने । सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिमा भन्दा पनि नो अब्जेक्सन लेटरको संख्या बढाउन ध्यान केन्द्रीत गरेको आभाष भइरहेको छ भन्दै उनले उच्च शिक्षा प्रतिष्ठानले नेपालको उच्च शिक्षालयहरूको शैक्षिक गुणस्तरमा कसरी उच्च स्तरीय बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर अध्ययन अनुसन्धानसमेत गर्ने उनको भनाइ थियो । 

प्रतिष्ठानले पब्लिक क्याम्पस संघसँग विभिन्न विषयमा सहकार्य गर्न सहमति गरेको संघका अध्यक्ष गुप्ताको भनाइ छ । उनका अनुसार प्रतिष्ठान र संघले नेपालमा उच्च शिक्षाको दीगोपन र चुनाैतीका विषयमा संयुक्त रूपमा अध्ययन गर्नेछ । विभिन्न विषयसँग केन्द्रीत रहेर अल्पकालीन अनुसन्धानका गतिविधि गर्न दुवै संस्थाले ऐक्यबद्धता जनाएका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय फोरमहरूमा नेपालको उच्च शिक्षाका विविध आयामहरूका सन्दर्भमा समेत विषय उठान गर्न सहमति गरिएको बुझिएको छ । 

समझदारी पत्रमा पारस्परिक हितका क्षेत्रहरूमा र सहयोगी संस्थाहरूको विशेषज्ञता र शक्तिको आधारमा परामर्श सेवाहरूमा संलग्न हुने र समझदारी अनुसार अन्य विशिष्ट क्षेत्रहरू र विवरणहरू दुवै संस्थाले दस्तावेजीकरण गर्ने र सुरक्षित राख्ने सहमति गरेका छन् ।

नेपाल पब्लिक क्याम्पस संघ र नेपाल उच्च शिक्षा प्रतिष्ठानबीच द्विपक्षीय सम्झाैतामा हस्ताक्षर कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रेमनारायण अर्याल, त्रिविका उच्च प्रतिनिधि, नेपाल पब्लिक क्याम्पस संघका पदाधिकारी, सदस्य एवं विभिन्न क्याम्पसका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *