नागढुंगा-सिस्नेखोला सुरूङमार्गको काम २० दिनदेखि ठप्प, फुर्सदमा ४ सय जना मजदुर

Thankot Times

थानकोट ।

चन्द्रागिरि र धुनिवेशी नगरपालिकामा निर्माणाधीन नागढुंगा-सिस्नेखोला सुरूङ मार्गको निर्माण कार्य २० दिनदेखि ठप्प छ।

निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि स्थानीयको निरन्तर अवरोधका कारण काम अघि बढ्न सकेको छैन्। 

स्थानीय बासिन्दाले पुरानै माग सम्बोधन नभएको भन्दै चैत ३ गतेदेखि काम अवरूद्ध गरेका छन्।

हाल काठमाडौं र धादिङ दुबै छेउमा निर्माण रोकिएको छ।

स्थानीयले सुरूङ मार्ग निर्माणका क्रममा अपनाइएको प्रविधिले उनीहरूको खानेपानी मुहान सुक्न पुगेको, घर चर्किएको र जमिन भासिएको गुनासो गर्दै आएका छन्। 

प्रारम्भिक सहमतिअनुसार अत्याधुनिक टिबिएम  प्रविधि प्रयोग गरिनुपर्नेमा सस्तो र जोखिमयुक्त  ड्रिलिङ एण्ड ब्लास्टिङ  प्रणाली प्रयोग गरिएपछि यस्ता समस्या उत्पन्न भएको स्थानीयको आरोप छ।

यसअघि पटक–पटक अवरोध हुँदा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले समस्या समाधान गर्न चासो नदेखाएको उनीहरूको भनाइ छ।

प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले खानेपानी समस्या समाधान गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्।  

खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने, चर्किएका घरहरूको उचित क्षतिपूर्ति दिनुपर्ने, सिँचाइको वैकल्पिक व्यवस्था मिलाइनुपर्ने, सुरूङ मार्गको पश्चिम पोर्टलमा बगेको प्राकृतिक पानीलाई प्रभावित क्षेत्रमा ल्याउने व्यवस्था गर्नुपर्ने, सुरूङ मार्गको कारण सिर्जित खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक योजनाहरू सञ्चालन गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई योग्यता र क्षमताको आधारमा रोजगारीको अवसर दिनुपर्ने, खानेपानी आयोजनामा भएका अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने लगायत माग राख्दै आन्दोलन गरिरहेका छन्।

नागढुंगा सिस्नेखोला सुरूङ मार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्षले गाेपी सुर्खेतीले समस्याको समाधान नभए अझ कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।

उनले भने, ‘हामीले धेरै पटक सरकारलाई हाम्रो समस्याबारे जानकारी गराइसक्यौं, तर अहिलेसम्म ठोस कदम चालिएको छैन। हाम्रो प्राकृतिक स्रोत सुक्दै गएका छन्, घरहरू चर्केका छन्, तर सरकारले कानमा तेल हालेर बसेको छ। यदि छिटो समाधान नभए हामी अझ कडा आन्दोलनमा जान बाध्य हुनेछौं।’

यता आयोजनाले पटक पटक वार्ताका लागि बोलाएन पनि प्रभावित क्षेत्रका बासिन्दा आउन अस्वीकार गरेको बताएको छ।

‘दुई साताअघि मन्त्रालयमा बैठक बसेको थियो। छलफल नमिलेपछि उहाँहरू बैठकबाट उठेर हिँड्नुभयो। बिना निष्कर्ष बैठक टुंगियो,’ आयोजनाका निमित्त प्रमुख सन्जय पन्थीले भने,‘अब हामी नयाँ तरिकाले जाने योजनामा छौं।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *