थानकोटस्थित चुनदेवी माविलाई भवन हस्तान्तरण

थानकोट ।
थानकोटस्थित चुनदेवी माविलाई भवन हस्तान्तरण गरिएको छ।
बुधबार एक समारोहका बीच सो विद्यालयलाई सगरमाथा/गोर्खा नेपाली यूथ कम्युनिटीले सानु तामाङ स्मृति भवन हस्तान्तरण गरेको हो।
२०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएको विद्यालय भवन सगरमाथा/गोर्खा नेपाली यूथ कम्युनिटीको अग्रसरतामा निर्माण गरिएको थियो ।
बेलायतमा रहेका नेपाली समुदायबाट संकलित करिब ४० लाख रुपैयाँमा निर्मित विद्यालय भवन सांसद् राजेन्द्रकुमार केसी, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी तथा सगरमाथा/गोर्खा नेपाली यूथ कम्युनिटीका चिरन राईले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
सो क्रममा चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, चन्द्रागिरि नगर शिक्षा शाखा प्रमुख सुदनराज खनाल लगायतको उपस्थिति रहेको थियो ।
सो विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष एवं युवा समाजसेवी इश्वर लामाको समन्वयकारी भूमिकामा सो भवन निर्माण सम्पन्न गरिएको सगरमाथा/गोर्खा नेपाली यूथ कम्युनिटीका संस्थापक चिरन राईको भनाइ थियो ।
चिरन राईले आफ्नो सम्बोधनमा यूकेमा रहेका नेपाली समुदायको समर्थन र सहयोगको प्रसंसा गर्दै नेपालमा आफूहरुले विद्यालय क्षेत्रमा गर्न पाएको सेवाले हर्षित भएको भन्दै गर्दै आगामी दिनमा पनि नेपालका शैक्षिक संस्थाहरूको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो भने विद्यालय भवन निर्माणका क्रममा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई समेत सम्मान गरिएको थियो ।