मकवानपुरमा प्रहरीबाट लुटिएको पेस्तोल र गोली फेला पर्यो

थानकोट ।
मकवानपुरमा लागूऔषध कारोबारीले प्रहरीबाट लुटेर लगेको पेस्तोल मंगलबार प्रहरीले फेला पारेको छ ।
मकवानपुरको कैलाश गाउँपालिका-१ वोलने लेकको जंगलमा फालेको अवस्थामा गोलीसहित पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
मकवानपुरको कैलाश गाउँपालिका-६ दुम्सीखर्कस्थित जंगलमा लागूऔषध कारोबारीले सोमबार प्रहरीको पेस्तोल लुटेर भागेका थिए । पेस्तोल लुटेरा र पेस्तोलको खोजीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा ६५ जना प्रहरी सोमबार बेलुकादेखि त्यस क्षेत्रमा परिचालन गरिएको थियो ।
अफिमको कारोबार भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पालुङका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती कैलाश गाउँपालिका-६ दुम्सीखर्कको जंगलमा पुग्दा २ केजी अफिम र मोटरसाइकल छाडेर कारोबारी भागेका थिए ।
अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालय पालुङतर्फ आउने क्रममा दुम्सीखर्कनजिकै अफिम कारोवारीसहितको १५ जना जतिको समूहले घेरा हालेर प्रहरीलाई कुटपिटसमेत गरेर पेस्तोल लुटेर भागेका थिए । उनीहरूले ७ राउन्ड गोली लोड भएको टाइप–५४ को पेस्तोल लुटेको लगेका थिए ।