मकवानपुरमा प्रहरीको पेस्तोल लुटियो, खोजी कार्यमा ६० जना प्रहरी परिचालन

Thankot Times

थानकोट ।

मकवानपुरको कैलाश गाउँपालिका-६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका छन् ।

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरु फरार भएका हुन् ।

मंगलबार बिहान देखिनै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भएपनि हतियार अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए ।

हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एकजना अधिकृतले बताए ।

सोमबार मध्यान्ह प्रहरीलाई देखेर २ केजी अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए ।

अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा ठुलो समूहले घेरा हालेर प्रहरीलाई कुटपिट समेत गरेर पेस्तोल लुटेर भागेका हुन् ।

७ राउण्ड गोली लोड भएको टाइप-५४ पेस्तोल लुटपाट भएको जिप्रका मकवापुरका अधिकृतहरु बताउँछन् ।

आरोपीहरुको खोजीमा ईप्रका मकवानपुरका प्रहरी निरिक्षक  सविनबावु अर्याल, मनहरीका प्रहरी निरिक्षक विशाल सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल र धादिङस्थित ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सुमन चापागाईं खटिएका छन् ।

लागुऔषध कारोबारीको खोजीमा ६० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एकजना अधिकृतले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *