बागमती प्रदेशको सर्वदलीय बस्दै

थानकोट ।
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठक बस्दै छ ।
प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले मङ्गलबार (आज) बिहान ८ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
यसअघि चैत १८ सोमबार अपराह्न ४ः३० बजेका लागि बोलाएको सर्वदलीय बैठक सार्दै सभामुख पाठकले मङ्गलवार बिहान ८ बजेका लागि बैठक बोलाएका थिए । सोमबार नै प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक बस्ने भएकाले समय अनुकूल नहुँदा बैठक सारिएको सभामुख पाठकले बताएका थिए । उक्त सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष शालिकराम जम्कट्टेल समेत उपस्थित हुन नसक्ने भएपछि सर्वदलीय बैठक सार्नु परेको उनले बताए ।
सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुङ्ग्याउन सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाई छ ।
सभामुख पाठकका अनुसार सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकले प्रदेशसभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ
११० सदस्यीय बागमती प्रदेशसभामा ७ दलको प्रतिनिधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुख सहित), राप्रपा १३ (सभामुख सहित), एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टी २ सांसद सहित प्रतिनिधित्व रहेको छ ।