नागढुंगा सुरुङमार्गको निर्माण १६ दिनदेखि ठप्प, दैनिक ५० लाख क्षतिपूर्ति तिर्दै सरकार

थानकोट ।
चन्द्रागिरि र धुनिवेशी नगरपालिकामा निर्माण भइरहेको परियोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण १६ दिनदेखि ठप्प छ ।
निर्माणको काम अन्तिम चरणमा रहेका बेला स्थानीयको अवरोधले काम ठप्प बनेको हो ।
स्थानीयले पुरानै माग दोहोर्याउँदै काम रोकिरहेका छन् ।
स्थानीयले पूरा भइसकेका माग व्यवस्थित गर्नुपर्ने भन्दै यही चैत ३ देखि काम गर्न दिएका छैनन् । अहिले काठमाडौं र धादिङ दुवैतर्फ काम रोकिएको छ ।
निर्माण अन्तिम चरणमा पुगेका बेला काम अवरुद्ध हुँदा परियोजना सम्पन्न हुने समय अनिश्चित बन्दै गएको छ । काम रोकिएको दुई साता बित्दा पनि न यसको समाधानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तदारुकता देखाएको छ न सडक विभागले नै ।
पटक–पटक स्थानीयले निर्माणमा अवरोध गर्दा पनि मन्त्रालयले तत्कालको समाधानका लागि पहल गर्ने गरेको पाइएको छैन । यसअघि पनि महिना दिनसम्म काम रोकिँदा सम्बद्ध निकाय उदासीन बनेको थियो । अहिले बन्द भएकै दिनको ठेक्का लिने निकायले हिसाब–किताब गरे सरकारले दैनिक करिब ५० लाखका दरले क्षतिपूर्ति तिर्नुपर्नेछ । अर्थात् १५ दिनसम्मको हिसाब गर्दा ७ करोड ५० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
सुरुङ मार्गको पश्चिम पोर्टल, पूर्वी पोर्टल तथा फ्लाइ ओभर क्षेत्रमा करिब ४ सय जना कामदार कार्यरत रहेकोमा पछिल्लो १६ दिनदेखि उनीहरू फुर्सदिला बनेका छन् ।