राजावादीले प्रदर्शनका नाममा उदण्डता र अराजकता मच्चाए- एमाले महासचिव पोखरेल

थानकोट ।
सत्तारुढ दल नेकपा एमालेले तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शनका नाममा गरेको अराजकताको भर्त्सना गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले राजावदीले प्रदर्शनका नाममा उदण्डता, अराजकता र हिंसा मच्चाइएको आरोप लगाएका छन्।
सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारणका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमा गरिएको आगजनी र लुटपाटले आतंकलाई दुरुत्साहन गरेको आरोप लगाइएको छ।
‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्। नेकपा (एमाले) लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ । सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ। आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।