आज काठमाडाैंका कुन-कुन स्थानमा हुँदैछ यातायात प्रभावित ?

थानकोट ।
शुक्रबार काठमाडौँमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्याली, प्रदर्शन र सभाका कारण काठमाडौँ उपत्यकाको यातायात प्रभावित हुने देखिएको छ ।
गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौँको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् । त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरेका छन् ।
ट्राफिक प्रहरीले वैकल्पिक ट्राफिक व्यवस्थापनको योजनाबारे छलफल गरे पनि सार्वजनिक गरिसकेको छैन । ट्राफिक प्रहरीका एसपी दीपक गिरीका अनुसार चक्रपथ, कोटेश्वर लगायतका स्थानमा सवारी रुट परिवर्तन हुनसक्ने छ ।
समाजवादी मोर्चामा रहेका दलहरू छुट्टाछुट्टै स्थानमा जम्मा भएर र्यालीसहित भृकुटीमण्डप पुग्ने रुट तयार गरेका छन् । त्यसअन्तर्गत माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर र सोह्रखुटटेमा जम्मा भएर र्याली निकाल्ने भएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले मैतिदेवी, डिल्लीबजार शान्तिबाटिकाबाट र्याली निकाल्नेछ । विप्लव नेतृत्वको नेकपा समर्थकहरू सुनधारा र नेसपाले न्युरोडमा जम्मा हुने भएका छन् । ११ बजेभित्र तोकिएका स्थानमा जम्मा भएर मोर्चा समर्थकहरू बबरमहलबाट माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर भद्रकाली अगाडी हुँदै भृकुटीमण्डप पुग्नेछ । यी स्थानमा १२ बजेपछि यातायात प्रभावित हुनेछ । त्यस्तै सोह्रखुट्टेबाट क्षेत्रपाटी, असन, जमल कमलादी, पुतलीसडक, पद्यमोदय, र बागबजार लगायतका स्थानमा पनि यातायात व्यवस्थापन प्रभावित हुने भएको छ ।
