चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताले पाए ६५ लाख वृत्ति

थानकोट ।
चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताले ६५ लाख रुपैयाँ बढीको अनुसन्धान वृत्ति प्राप्त गरेका छन् । यसअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) र फिलिपिन्सको बहाए फाउन्डेसनबाट विभिन्न विधामा नवीन अनुसन्धान गर्न यो अनुदान प्राप्त भएको हो ।
विश्वविद्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विभिन्न विधामा २८ लाखभन्दा बढीको अनुसन्धान वृत्ति मिलेको छ । खुला प्रतियोगिताबाट चयन भएका यी अनुसन्धानकर्ताहरूले दिगो पूर्वाधार, जैविक कृषि, डिजिटल प्रविधि, वन जैव सामग्रीजस्ता क्षेत्रमा नवीन अनुसन्धान गर्ने विश्वविद्यालयले जनाएको छ ।
अनुसन्धान वृत्ति प्राप्त गर्ने प्रमुख अनुसन्धानकर्ताहरूमा डा. कीर्ति कुसुम जोशी (दिगो र लचक भवन निर्माण), डा. भुषण श्रेष्ठ (औषधीय च्याउबाट स्वास्थ्य सेवा उत्पादन), डा. सबिना श्रेष्ठ (प्राकृतिक खाद्य रङ्गको उपयोग), डा. सर्वेश दास डंगोल (स्थानीय कोदो र चामल संरक्षणका लागि रोग पत्ता लगाउने प्रविधि), डा. रिजन महर्जन (प्रविधि प्रयोग गरेर प्लास्टिक फोहोर व्यवस्थापन) र डा. झसनाथ अधिकारी सुबिन (मोलिक्युलर डकिंग गणनासम्बन्धी अनुसन्धान) छन् ।
त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले आयोजना गरेको ‘युवा वैज्ञानिकहरूका लागि अनुसन्धान सहयोग’ कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताले १२ लाखको अनुसन्धान वृत्ति प्राप्त गरेका छन् । यसअन्तर्गत डा. सर्वेश दास डंगोलले ‘पोलीमेरासेसको इन-भिट्रो उत्पादन तथा ग्रहण’ सम्बन्धी अनुसन्धानका लागि अनुदान प्राप्त गरेका छन् ।
विश्वविद्यालयका अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदानसमेत प्राप्त गरेका छन् । यसअन्तर्गत फिलिपिन्सको बहाए फाउन्डेसनले टिकाउ सामग्रीहरूबाट सुलभ, विपद् प्रतिरोधी तथा वातावरणमैत्री घर निर्माणसम्बन्धी अनुसन्धानका लागि विश्वविद्यालयका डा. किशोर तिमल्सिनालाई २५ लाख रुपैयाँ हारहारीको अनुसन्धान वृत्ति प्रदान गरेको छ ।
हाल मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले डिजिटल प्रविधि, जैविक कृषि तथा वन जैव सामग्रीसम्बन्धी पाँच प्रमुख अनुसन्धान प्रयोगशालाहरू सञ्चालन गरिरहेको छ । निकट भविष्यमा साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक प्रयोगशालासमेत स्थापना गर्ने लक्ष्य लिएको विश्वविद्यालयले नवीन अनुसन्धान तथा प्रविधि विकासमार्फत नेपालको वैज्ञानिक क्षमता अभिवृद्धि गर्दै आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्य राखेको छ ।
मकवानपुर जिल्लाको चित्लाङमा अवस्थित यो विश्वविद्यालयले अनुसन्धानमुखी शिक्षामा केन्द्रित हुँदै अन्तर्राष्ट्रियस्तरको विज्ञान तथा प्रविधि केन्द्रका रूपमा विकसित हुने लक्ष्य राखेको छ ।
टेकपानाबाट