एएफसी एसिया कप छनोट- नेपाल र मलेसिया आज प्रतिस्पर्धा गर्दै

थानकोट ।
एएफसी एसिया कप-२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज (मंगलबार) मलेसियासँग खेल्दैछ ।
खेल मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ।
नेपालले गएको शुक्रबार अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा सिङ्गापुरलाई १–० ले हराएको थियो ।
सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताएका छन् ।
फिफा वरीयातमा मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छ ।
नेपालले अहिलेसम्म मलेसिया फुटबल टिमलाई हराउन सकेको छैन् । नेपाल र मलेसियाबीच अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय खेल भएकामा नेपाल ६ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो ।
नेपाल र मलेसियाबीच पछिल्लो पटक सन् २०१९ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले पराजित भएको थियो । यो पटकको छनोटमा एशियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ । नेपालको समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेका छन् ।
होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एशियन कपमा छनोट हुनेछ ।
मलेसियासँगको यो खेल नेपालको होम म्याच हो ।
तर दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो ।