चन्द्रागिरि नगरको अफिसियल फुटबल टिम खडा गरिने, नियमित अभ्यासका लागि वार्षिक बजेट

Thankot Times

थानकोट ।

नगरको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा सहभागी भएका फुटबल खेलाडीहरूलाई चन्द्रागिरि नगरपालिकाले सम्मान गरेको छ ।

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना सोमबार भएको खेलाडी सम्मान तथा हस्तान्तरण कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले गत जेठ महिनामा सञ्चालित प्रथम गोदावरी मेयर कप फुटबल प्रतियोगितामा दोश्रो स्थान हात पारेको चन्द्रागिरि फुटबल टोली तथा यहि शनिबार सम्पन्न प्रथम काठमाडाैं जिसस कप फुटबलमा दोश्रो स्थान हासिल गर्ने टोलीलाई सम्मान गरेका हुन् ।

सो क्रममा नगरप्रमुख गिरीले नगरको अफिसियल फुटबल टिमका खडा गरिने र सो टिमको निरन्तर प्रशिक्षणका लागि वार्षिक रुपमा बजेट विनियोजन गरिने घोषणा गरेका छन्। उनका अनुसार सो टिमले नगरका तर्फबाट देशका विभिन्न स्थानमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनेछ ।

खेलाडी सम्मान कार्यक्रममा बोल्दै नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले नगरको खेल क्षेत्रलाई अघि बढाउन र स्थायित्व दिन अक्षय कोष खडा गर्ने प्रतिबद्धता जनाए ।

हाललाई फुटबल खेलाडीहरूका लागि सम्मान गरिएकोमा यसपछि क्रमश अन्य खेलका खेलाडीहरूका लागि समेत सम्मान कार्यक्रम राखिने चन्द्रागिरि नगर सामाजिक विकास समिति संयोजक एवं वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले बताए ।

दुईवटा प्रतियोगितामा सहभागी भएका करिब २८ जना खेलाडीहरूलाई सोमबार सम्मान गरिएको प्रतियोगितामा सहभागिता संयोजन गरेका चन्द्रागिरि नगरसभा सदस्य दिपक श्रेष्ठले जानकारी दिए ।

खेलाडी सम्मान कार्यक्रममा नगरका कार्यपालिका सदस्यहरू, शिक्षा शाखाका कर्मचारीहरू, खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायतको उपस्थिति रहेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *